काठमाण्डौ,२५ साउन ।
नेपाली काँग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टीको आसन्न १४ औं महाधिवेशन अझै पनि तोकिएकै समयमा सम्पन्न गर्न सकिने निष्कर्ष निकालेको छ ।

पार्टीका महामन्त्री डा. शशांक कोइरालाको निवासमा सोमबार अपरान्ह बसेको पौडेल पक्षीय नेताहरुको केन्द्रिय कार्य समिति बैठकले पार्टी नेतृत्वले इमान्दार प्रयास गरे अझै पनि समयमै महाधिवेशन सम्पन्न गर्न सकिने निष्कर्ष निकालेको हो ।

तोकिएकै समयमा पार्टीको महाधिवेशन गरेर यसको वैधानिकलाई अझै पनि बचाउन सकिने निष्कर्षमा आफूहरु पुगेको बरिष्ठ नेता पौडेलले बताए । उनले त्यसका लागि पार्टी नेतृत्वले इमान्दार प्रयास गर्नुपर्ने आवश्यकता समेत औंल्याए ।

वरिष्ठ नेता पौडेलले भने, ‘हाम्रो धारणा र सोचाइको निष्कर्ष के छ भने पार्टीको महाधिवेशन तोकिएकै मितिमा गरेर अझै पनि पार्टीको वैधानिकतालाई जोगाउन सकिन्छ । त्यसका लागि हामी सबैले इमान्दारपूर्वक प्रयास गर्नु पर्छ ।’

बैठकले महाधिवेशन समयमै सम्पन्न गर्न क्रियाशील सदस्यता सम्बन्धि विवाद थाती राखेर १३ औं महाधिवेशनकै प्रतिनिधिबाट प्रक्रिया अघि बढाउन सकिने पनि स्पष्ट पारेको छ ।

वरिष्ठ नेता पौडेलले सकिने ठाउँमा भने क्रियाशील सदस्यको विवाद समाधानका लागि २ दिन सम्मको समय लिन सकिने आफू पक्षको धारणा भएको पनि बताए । क्रियाशील सदस्यताको विवाद देखाएर नेतृत्वले पार्टीको वैधानिकतालाई धरापमा पार्न नहुने पौडेल पक्षको दावी छ ।