काठमाडौं,२५ साउन । नेपाली कांग्रेसका युवा नेता मोती भण्डारीले कांग्रेस असफल नभएर एकअर्काको उछितो काढ्ने नेताहरू असफल भएको बताएका छन् ।
कांग्रेस पार्टी कहिल्यै पनि असफल नहुने बताउदै उनलेे एकले अर्काको उछिताे काढ्ने नेतृत्व भने असफल भएको बताएका छन् ।
नेपाली कांग्रेसको आसन्न महाधिवेशन बारे भैरहेका नेताहरूका टीका टिप्पणी बारे सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भण्डारीले कांग्रेसको महाधिवेशन गर्न नसक्ने नेताहरू असफल रहेको बताए । नेतृत्वमा रहेका नेताहरूका कारण पार्टीभित्र समस्या आएको उनको भनाइ छ ।
‘हाम्रो पार्टी असफल होइन । महाधिवेशन गर्न नसक्ने नेताहरू असफल हुन्’, युवा नेता भण्डारीले भने, ‘अब तपाईंहरूको काम महाधिवेशनका कुरा सम्झिने बस्ने ।’
कांग्रेसका नेता भण्डारीले भने, ‘एक अर्कोको जति सकिन्छ उछितो काट्ने बाहेक अरु के गर्ने ?’
कांग्रेसको १४औँ महाधिवेशन अनिश्चित बनेपछि नेता भण्डारीले चिन्ता जनाउँदै कांग्रेसको नेतृत्वप्रति चरम असन्तुष्टि जनाएका हुन् ।
कांग्रेसको महाधिवेशन भदौमा हुने कार्य तालिका छ । महाधिवेशन आउन कम्तिमा १५ दिन बाँकी रहेका बेला गाउँ, वडाहरूको महाधिवेशन हुन सकेको छैन ।
कांग्रेसको महाधिवेशनलाई कोरोना महामारीले प्रभावित बनाएको छ । यस्तो अवस्थामा १४औँ महाधिवेशन र कांग्रेसको भविष्यलाई लिएर युवा नेताहरूमा चिन्ता आएको हो ।






