मुख्यमन्त्री पोखरेलविरुद्धको अविश्वास प्रस्तावमाथी छलफलको बाटो खुल्यो
बुटवल,२४ साउन ।
लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्तावमाथी छलफलका लागि बोलाइएको प्रदेशसभाको विशेष अधिवेशनविरुद्ध रिट दर्ता गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।
प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गतेका लागि बोलाएको विशेष अधिवेशन रोक्न माग गर्दै अधिवक्ता प्रवेश केसी रिट लिएर सर्वोच्च पुगेका थिए । तर सर्वोच्चले असम्बन्धित व्यक्ति रिट लिएर आएको भनी दरपीठ गरिदिएको हो ।
सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले हकदैयाको अभावमा रिट दर्ता गर्न नमिलेकोले दरपीठ भएको जानकारी दिए ।
मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका विपक्षी चार दलको गठवन्धनले प्रदेश प्रमुखसमक्ष विशेष अधिवेशन बोलाउन समावेदन गरेका थिए । नेपाली कांग्रेस, माओवादी केन्द्र,जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ३४ सांसदको समावेदनका आधारमा प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गतेको लागि प्रदेश सभाको विशेष अधिवेशन आह्वान गरेका थिए ।
सर्वोच्चले रिट दरपीठ गरिदिएपछि अब साउन २७ गते प्रदेश सभाको विशेष अधिवेशन बस्ने बाटो खुलेको छ । विशेष अधिवेशनमा मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल भई निर्णय हुने छ ।
प्रदेश सभामा हाल कायम ८० प्रदेश सभा सदस्यमध्ये मुख्यमन्त्री पोखरेलको दल नेकपा एमालेसँग ३८ जना रहेका छन् । विपक्षी गठबन्धनमा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १८, जसपाका ३ जना र राष्ट्रिय जनमोर्चाका १ जना गरी ४१ जना प्रदेश सभा सदस्य रहेका छन् ।
मुख्यमन्त्री पोखरेल बिरुद्ध यसअघि विपक्षी गठवन्धनले अविश्वास प्रस्ताव दर्ता गरी बिशेष अधिवेशन आह्वानकालागि समावेदन दिए पनि तत्कालिन प्रदेश प्रमुख विश्वनाथ यादवको अनिक्षाका कारण अविश्वासको प्रस्तावमाथी छलफल हुन सकेको थिएन ।
लुम्बिनीमा विपक्षी गठवन्धनले शंकर पोखरेल दोस्रो पटक अवैधानिक रुपमा मुख्यमन्त्री नियुक्त भएको र अल्पमतमा रहेर पनि सरकारमा बसिरहेको भन्दै मुख्यमन्त्री पोखरेलले प्रदेश सभा बाट विश्वासको मत लिन या राजिनामा दिन माग गर्दै आएका थिए ।
मुख्यमन्त्री पोखरेलले भने सरकारले उपयुक्त समयमा विश्वासको मत लिने बताउदै आए पनि विश्वासको मत पनि नलिने र राजिनामा पनि नदिएपछि आफुहरुसँग बहुमत प्रदेश सभा सदस्य रहेको दाबी गर्दै आएको विपक्षी गठवन्धन दलहरुले मुख्यमन्त्री पोखरेल बिरुद्ध पुन अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।






