काठमाडौं,२३ साउन ।
त्रिभुवन विश्वविद्यालयले हाल सञ्चालन भैरहेका परीक्षा नरोकिने जनाएको छ ।
हाल त्रिविमा सबैजसो संकायको स्नातक र स्नातकोत्तर तहको परीक्षा सञ्चालन भइरहेको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीले त्रिविका परीक्षा स्थगित नहुने जानकारी दिएका हुन् ।
स्नातक तह प्रथम वर्षको व्यवस्थापन संकायको परीक्षा शुक्रबार नै सकिएको छ भने विज्ञान र शिक्षा संकायका परीक्षा आइतबार सकिनेछ ।
त्यसपछि मानविकी तथा सामाजिक संकायको मात्र परीक्षा बाँकी रहने जोशीले बताए ।
परीक्षा दिन बाँकी विद्यार्थी थोरै रहेको र लामो समयसम्म परीक्षा नभएका कारण स्वास्थ्य मापदण्ड अपनाएर ती परीक्षा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।
त्रिविका सबै परीक्षाको हिसाब गर्दा २०÷३० हजार विद्यार्थी रहेको र धेरैजसोको परीक्षा सकिने क्रममा रहेको भन्दै उनले त्रिविले तोकेको सबै परीक्षा सञ्चालन हुने उनले बताए ।
कोरोना महामारी फेरि बढ्न थालेको भन्दै शनिबार राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेको थियो ।





