बुटवल,२३ साउन । मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले शनिबार बुटवलमा निःशुल्क मास्क वितरण गरेको छ ।

सरकारले आजदेखि देशभर मास्क अभियान सञ्चालन गरिरहेका बेला शान्ति समाजले बुटवलमा निःशुल्क मास्क वितरण गरेको हो ।
बढ्दो कोरोना संक्रमण र यसबाट बच्ने उपायबारे जानकारी गराउदै शान्ति समाज रूपन्देहीले शनिबार बिहान बुटवलको चाँदबारी चोकबाट मास्क वितरण अभियान सुरु गरेकाे हो ।
शान्ति समाज रुपन्देहीका सभापति डीपी खनालले मास्क वितरणसँगै कोरोनाबाट जोगिने उपायको बारेमा सर्वसाधारणलाई जानकारी गराउनु अभियानकाे मुख उद्देश्य रहेको बताए । उनले करिब ७ सय जनालाई १ हजार पिस मास्क वितरण गरिएको जानकारी गराए ।
सडकमा हिडेका पैदल यात्री, रिक्सा, साइकल तथा अन्य सवारी साधनमा भेटिएका मानिसहरु मध्ये ४० प्रतिशतले मास्क प्रयोग नगरेको पाइएको सभापति खनालले बताए ।
सो अभियानमा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका पदाधिकारी, सदस्य तथा शुभेच्छुकहरुको सहभागिता रहेको थियो ।








