काठमाडौ,२३ साउन । भारतमा कोरोना भाइरस संक्रमण दर कम हुदै गएको छ । शुक्रबार सार्वजनिक गरिएको विवरणको तुलनामा शनिबार संक्रमितको संख्यामा उल्लेख्य कमी आएको हो ।

शुक्रबारभन्दा शनिवारको विवरणमा झण्डै ६ हजार कमी देखिएको सरकारी अधिकारीले जनाएका छन् ।
शनिबार सार्वजनिक गरिएको विवरणअनुसार पछिल्लो २४ घण्टामा ३८ हजार ६२८ जनामा संक्रमण पुष्टि भएको छ ।
शुक्रबार सार्वजनिक गरिएको विवरणमा ४४ हजार ६४३ जनामा संक्रमण पुष्टि भएको थियो । सरकारी अधिकारीका अनुसार भारतमा एकै दिनमा ४० हजार १७ जना काेराेना संक्रमित निकाे भएका छन् । एउटै समयावधिमा नयाँ संक्रमितको संख्याभन्दा निकाे हुनेको संख्या धेरै देखिएको छ ।

भारतमा अहिले सक्रिय संक्रमितको संख्या चार लाख १२ हजार १५३ रहेको छ। अघिल्लो दिन चार लाख १४ हजार १५३ रहेको थियो । त्यस्तै भारतमा कुल संक्रमित को संख्या तीन करोड १८ लाख ९५ हजार ३८५ पुगेको छ।

संक्रमितमध्ये १.२९ प्रतिशत मात्रै अहिले पनि संक्रमित रहेका छन् । भारतमा हालसम्म तीन करोड १० लाख काेराेना संक्रमित निकाे भएको त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।
हालसम्म भारतमा चार लाख २७ हजार ३७१ जना कोराेना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै भारतमा ६१७ जना कोराेना संक्रमितको मृत्यु भएको थियोे ।सरकारी अधिकारीका अनुसार भारतमा अहिलेसम्म ४७ करोड ८३ लाख जनाको कोरोना परीक्षण गरिएको छ । भारतमा काेराेना संक्रमण बढ्दै जादा त्यसको असर नेपालमा पनि देदिने भएकोले त्यहाँ हुने संक्रमण दरलाई नेपालमा पनि चासोका साथ हेर्ने गरिन्छ ।