प्रदेश प्रमुख कसैको पक्ष विपक्षमा नभएर संविधानकाे पक्षमा रहेको प्रदेश प्रमुखको कार्यालयकाे प्रष्टिकरण
बुटवल,२३ साउन ।
लुम्बिनी प्रदेश प्रमुखको कार्यालयले प्रदेश प्रमुखलाई कुनै दल विशेषसँग जाेडेर नहेर्न आग्रह गरेको छ ।
शुक्रबार बुटवलको एक दैनिक पत्रिकामा प्रकाशित समाचारको विषयलाई लिएर प्रदेश प्रमुखको कार्यालयद्वारा शुक्रबार एक प्रेस विज्ञप्ति जारी गरि प्रदेश प्रमुखलाई कुनै दल विशेषसँग जाेडेर नहेर्न आग्रह गरेको हो ।
प्रदेश सभाका एक चौंथाई सदस्यले विशेष अधिवेशन माग गरे अधिवेशन आह्वान गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको प्रष्ट पार्दै प्रदेश प्रमुखको कार्यालयले संविधान बमोजिम प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्दा प्रदेश प्रमुखलाई कुनै दल विषेशसंग जोडिएकाे प्रति कार्यालयकाे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
प्रदेश प्रमुखको स्वकीय सचिवालयकाे तर्फबाट नारायणप्रसाद आचार्यद्धारा हस्ताक्षरित विज्ञप्तिमा संविधानको धारा १८३ को उपधारा ३ बमोजिम विषेश अधिवेशन आह्वान गरिएको भन्दै प्रदेश प्रमुखलाई कुनै दल विषेशसंग जोडेर भ्रम सृजना गरिएको जनाइएको छ ।
विज्ञप्तिमा प्रदेश प्रमुखलाई संवैधानिक अंग बुझिदिन अनुरोध गर्दै कुनै दल विशेषसंग नजोड्न आग्रह गरिएको छ ।
साउन २२ गते प्रकाशित उक्त समाचारमा प्रदेश प्रमुख प्रदेश सरकारबिरुद्ध रहेको आशय ब्यक्त गरिएको जनाइएको छ ।







