बुटवल,२२ साउन ।
लुम्बिनी प्रदेश सभाको विशेष अधिवेसन आह्वान विरुद्ध सवोच्च अदालतमा रिट निवेदन पेश भएको छ ।

पेश भए पनि रिट निवेदन दर्ता भने भएको छैन ।
अधिवक्ता प्रवेश केसीले अधिवेसन आह्वान बिरुद्ध रिट निवेदन लिएर सर्वोच्च पुगेका हुन् ।

रिटबारे अध्ययन भइरहेको र दर्ता हुने÷नहुने टुंगो आइतबार लाग्ने सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।

लुम्बिनी प्रदेश सभामा विपक्षी गठवन्धन दल नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध मंगलबार अविश्वासको प्रस्ताव दर्ता गरि विशेष अधिवेसन आह्वानका लागि प्रदेश प्रमुख समक्ष समावेदन दिएका थिए ।

विपक्षी गठवन्धन दलको माग अनुसार प्रदेश प्रमुख अमिक शेरचनले बिहिबार यही साउन २७ गतेका लागि बिशेष अधिवेशन आह्वान गरेका हुन् ।

साउन २७ गतेका लागि आह्वान गरिएको बिशेष अधिवेशनमा मुख्यमन्त्री पोखरेल बिरुद्धको अविश्वासको प्रस्तावमाथी छलफल हुने छ ।
अहिलेको अवस्थामा मुख्यमन्त्री पोखरेल बिरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नमिल्ने प्रदेश सरकारले दाबी गरिरहेका बेला विशेष अधिवेसन आह्वान बिरुद्ध सर्वोच्चमा रिट निवेदन पेश भएको हो ।

मुख्यमन्त्री पोखरेल अबैध तरिकाले नियुक्ती भएको र प्रदेश सरकार अल्पमतमा रहेको भन्दै मुख्यमन्त्रीले बिश्वासको मत लिन या राजिनामा दिनुपर्ने माग गर्दै आएकोमा मुख्यमन्त्रीले बिश्वासको मत पनि नलिने र राजिनामा पनि नदिएर सरकारमा बसिरहेको भन्दै विपक्षी दलहरुले अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।