बुटवल,२२ साउन ।
नेपाली काँग्रेस निकट नेपाल महिला संघ रुपन्देहीले मुख्यमन्त्री शंकर पोखरेलको निर्देशनमा महिला सांसदलाई अपहरण शैलीमा आफ्नै निवासमा बन्धक बनाईएको भन्दै आपत्ती जनाएको ।
संघकी जिल्ला अध्यक्ष गंंगा शाहीले आज एक प्रेस विज्ञप्ति जारी गरी मुख्यमन्त्री शंकर पोखरेलकै निर्देशनमा नेकपा माओवादी केन्द्रकी प्रदेशसभा सदस्य विमला वलीलाई दाङबाट अपहरण शैलीमा बुटवल ल्याएर मुख्यमन्त्री निवासमै बन्धक बनाईएको भन्दै घटनाको निन्दा र भ्रत्सर्ना गरेको हो ।
मुख्यमन्त्री पोखरेलको निर्देशनमा एमाले संसदीय दलका प्रमुख सचेतक आफै संलग्न भई अपहरण शैलीमा मुख्यमन्त्री निवास पु¥याईएको आरोप लगाईएको छ ।
एकल महिलासमेत रहेकी लुम्बिनी प्रदेश सभा सदस्य विमला खत्री वलीलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा ५ दिनसम्म बन्धक बनाइएको र विभिन्न कागजपत्रमा जबरजस्ती हस्ताक्षर गर्न लगाएको उल्लेख गर्दै विज्ञप्तिमा कसैलाई शारीरिक रूपमा बन्धक बनाउनु र उसको इच्छाविपरीत कागजपत्रमा सही गराउनु सामान्य घटना नभएको जनाईएको छ ।
प्रदेश सांसद विमलामाथि भएको घटनामा मुलुकी फौजदारी कानुन आकर्षित हुने भन्दै घटनामा संलग्नलाई कानूनी दायरामा लयाउन माग गरिएको छ ।
गत बैशाख १९ मा असंवैधानिक ढंगले निर्माण भएको मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकार त्यसयता निरन्तर अल्पमतमा रहेर पनि निर्लज्ज ढंगले अराजनैतिक र असंवैधानिक रुपमा संञ्चालन भैरहेको भन्दै विज्ञप्तिमा अविश्वासको प्रस्तावको सामना पनि नगर्ने, बजेट पारित गर्ने प्रस्तावनै पेश नगर्ने र सरकार पक्षलेनै संसद वरिष्कार गर्ने जस्ता अराजनीतिक गतिबिधि गर्दै आएको जनाइएको छ ।
जनता, सांसद लगायत सबैको सुरक्षा गर्नुपर्ने दायित्व बोकेको सरकारकै नेतृत्वनै अपहरण र शरिर बन्धक बनाउने जस्ता आपराधिक घटनामा प्रत्यक्ष सहभागिता हुनुले संघीय लोकतान्त्रिक गणतन्त्र नै धरापमा पर्ने खतरा उत्पन्न भएको जनाउदै विज्ञप्तिमा घटनामा संलग्नलाई यथासिंघ्र कानुनको दायरामा ल्याउन र पीडितलाई न्याय दिलाउन सरकारसँग माग गरिएको छ ।







