काठमाडौं,२२ साउन ।
नेपालमा शुक्रबार थप ३ हजार ७२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर ९ हजार ४९३ पीसीआर परीक्षण गर्दा २ हजार ४३० जना र ६ हजार १८२ एन्टिजेन परीक्षण गर्दा १ हजार २ सय ९९ गरी ३ हजार ७२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख १० हजार ५०९ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ८८५ जना कोरोना संक्रमित निको भएका छन् । नेपालमा हालसम्म ६ लाख ६५ हजार ५४८ जना कोरोना संक्रमित निको भएका छन् ।
त्यसैगरी पछिल्लो २४ घण्टामा २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा
१० हजार १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ९४२ जना रहेको छ । जसमध्ये ३१ हजार ४२७ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ५१५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७३२ जना आईसीयू र १५८ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
यस्तै १० वर्ष मुनिका ७० बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २ सय जना कोरोना संक्रमित थपिएका छन् ।
आज कुन जिल्लामा कति जनामा संक्रमण पुष्टि ?
स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार सबैभन्दा धेरै काठमाडौंमा ४७१, कास्कीमा ३८३, झापामा १७३, चितवनमा १५५, ललितपुरमा १४७ र गोरखामा १२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै मोरङमा ९४, भक्तपुरमा ८३, मकवानपुरमा ७०, नवलपरासी पूर्वमा ६०, सुनसरीमा ५९ र रुपन्देहीमा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कैलालीमा ४७, नुवाकोटमा ४६, रामेछापमा ३९, सुर्खेतमा ३६, तनहुँमा ३३, स्याङ्जा र बर्दियामा २७÷२७ जना, दाङमा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै धादिङमा १८, धनकुटामा १६, बाँकेमा १५, जुम्लामा १४, काभ्रेपलाञ्चोक र पाल्पामा १३÷१३, सिन्धुली र अर्घाखाँचीमा ११÷११ जना तथा धनुषा र डडेल्धुरामा १०÷१० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।







