काठमाडौं,२१ साउन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा साउन महिना पछि कोरोना भाइरसको संक्रमण क्रमशः घट्दै जाने प्रक्षेपण गरेको छ ।
संसद्को शिक्षा तथा स्वास्थ्य समिति बैठकमा मन्त्रालयका नीति योजना तथा अनुमगन महाशाका प्रमुख डा. गुणराज लोहनीले मन्त्रालयको प्रक्षेपणबारे जानकारी गराएका हुन् ।
डा. लोहनीका अनुसार साउनमा ५३ हजारभन्दा बढी कोरोनाका संक्रमित थपिने र त्यसपछि क्रमशः घट्दै जाने लोहनीले बताए । यो संख्या आगामी मंसिरमा आधाले घट्ने मन्त्रालयको प्रक्षेपण रहेको उनले समितिलाई जानकारी गराए ।
लोहनीले संसदीय समितिमा पेश गरेको प्रक्षेपणअनुसार संक्रमितको संख्या साउनमा ५३ हजार ३०७, भदौमा ४५ हजार ७२६, असोज महिनामा ३८ हजार ५९७ र कात्तिकमा ३१ हजार ४४ पुग्नेछ । मंसिरसम्म यो संख्या २५ हजार १८३ मा आइपुग्ने प्रतिवेदनमा उल्लेख छ ।
उनका अनुसार साउनदेखि मंसिरसम्मको अवधिमा १ लाख ९३ हजार ८५६ जना नयाँ संक्रमित थपिने सम्भावना रहेको छ । यीमध्ये ३८ हजार ७७१ जनालाई उपचार सेवा आवश्यक पर्ने उनले बताए ।
९ हजार ६ ९३ जनालाई भने आइसीयू उपचारको आवश्यकता पर्न सक्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।





