अपराधको बलमा सरकारमा टिकिरहने दुश्वप्न नदेख्न चेतावनी
बुटवल,२१ साउन । प्रदेश सभा सदस्य विमला वली खत्रीलाई मुख्यमन्त्री निवासमा बन्धक बनाइएको घटनाप्रति लुम्बिनी प्रदेशमा क्रियाशील विपक्षी राजनीतिक दलहरुले गम्भीर आपत्ति प्रकट गरेका छन् ।
नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले बिहीबार एक विज्ञप्ति प्रकाशित गरी प्रदेश सभा सदस्य वलीलाई उनकै घरबाट अपहरण गरी बन्धक बनाएको भन्दै घटनाप्रति आपत्ति प्रकट गरेका हुन् ।
मुख्यमन्त्री शंकर पोखरेलको निर्देशन र प्रमुख सचेतक भुमिश्वर ढकालको प्रत्यक्ष संलग्नतामा वलीलाई बन्धक बनाइएको उनिहरूकाे आराेप छ ।
घटनाको निन्दा र भ्रत्सर्ना गर्दै उनिहरूले घटनामा संलग्नहरूलाई कानुनी कठघरामा उभ्याउन माग समेत गरेका छन् ।
पाेखरेल नेतृत्वको प्रदेश सरकार बैशाख १९ गते असंवैधानिक ढंगले गठन भएको भन्दै उनिहरूले अल्पमतमा रहेर पनि निर्लज्ज ढंगले अराजनीतिक र असंवैधानिक रुपमा सरकारमा बसिरहेको जनाएका छन् ।
नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक फकरूद्दिन खाँन,नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक तुलाराम घर्ती मगर,जनता समाजवादी पार्टी संसदीय दलका उप नेता सुमन शर्मा रायमाझी र राष्ट्रिय जनमोर्चा संसदीय दलका नेता तारा जिसीद्वारा हस्ताक्षरित विज्ञप्तिमा अपराधी जतिसुकै शक्तिशाली भए पनि कानुनी दायरामा ल्याएरै छाड्ने चेतावनी समेत दिएका छन् ।
अविश्वासको प्रस्तावका सामना नगर्ने, बजेट पेश नै नगर्ने र संसद बहिस्कार गर्ने, अन्य पार्टीलाई तोडफोड गर्ने जस्ता घटना भैरहेको जनाउँदै विज्ञप्तिमा भनिएको छ, ‘अब पछिल्लो चरणमा केन्द्रीय संसदमा जस्तै यहाँ पनि मुख्यमन्त्री स्वयं सांसद अपहरण, धम्की र किनवेचको आपराधिक तरिका अपनाउँदै सांसदलाई शरीर बन्धक अपहरणमा संलग्न हुँदै गरेको त होइन भन्ने गम्भीर आशंका जन्माएको छ ।’
दलहरुले सरकारको नेतृत्वनै अपहरणजस्ता आपराधिक घटनामा प्रत्यक्ष संलग्नता हुने जस्ता घटनाले संघीय लोकतान्त्रिक गणतन्त्र नै धरापममा पर्ने आशंका गरेका छन् । उनीहरुले प्रदेश सरकारलाई यस्ता आपराधिक घटनामा संलग्न अपराधीलाई तत्काल कानूनको कठघरामा उपस्थित गराउन माग गर्दै अपराधको बलमा सरकारमा टिकिरहने दुश्वप्न नदेख्न चेतावनी समेत दिएका छन् ।







