बुटवल,२१ साउन । गत शुक्रबार रातिदेखि सम्पर्क बिहिन भएको भनिएकी लुम्बिनी प्रदेश सभा सदस्य विमला खत्री वली आज सार्वजनिक हुने भएकी छन् ।
बुधबार नेकपा माओवादी केन्द्र संसदीय दलको सम्पर्कमा आएकी प्रदेश सभा सदस्य वली आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक हुन लागेकी हुन् ।
उप निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी नेकपाबाट निर्वाचित भएर नेकपा खारेज भएपछि माओवादी केन्द्र पार्टी राेजेकी वली
शुक्रबारदेखि पार्टीको सम्पर्क बाहिर थिइन् ।
तीन दिन अघि उनको नामबाट जारी गरिएको विज्ञप्तिमा आफू नेकपा एमालेमा फर्केको जनाइएको थियोे ।
नेकपा माओवादी केन्द्रले प्रदेश सभा सदस्य वलीलाई एमाले नेता एवं प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बन्धक बनाएर राखेको आरोप लगाएको थियो ।

वली सम्पर्क बिहिन भएपछि बिभिन्न खाले चर्चा बाहिर आएपनि उनको वास्तविक अवस्था अझै सार्वजानिक भएको छैन । बैशाख १९ गते पत्रकार सम्मेलन गरेर माओवादी केन्द्र रोजेको घोषणा गरेकी विमलालाई एमालेले पनि आफ्नै सांसद रहेको दावी गर्दै संसदमा उनको आसनको प्रबन्ध मिलाउन माग गर्दै आएको थियो ।

विमलालाई मुख्यमन्त्री शंकर पोखरेलले आफ्नै सरकारी निवासमा बन्धक बनाएर राखेको र जबर्जजस्ती विज्ञप्तिमा सहि गर्न लगाएको माओवादी नेताहरुले आरोप लगाउँदै आएका थिए । बुधबार मात्र उनी बन्धक मुक्त हुन सफल भएको र माओवादी केन्द्रमै रहेको माओवादी केन्द्रले जनाएको थियो ।

उनलाई आज दिउँसो १ बजे नेकपा माओवादी केन्द्र प्रदेश संसदीय दलका कार्यालयमा पत्रकार सम्मेलन गरि सार्वजनिक गर्ने कार्यक्रम रहेको संसदीय दलका प्रमुख सचेतक तुलाराम घर्ती मगरले लुम्बिनीपाटी अनलाइनलाई जानकारी दिए ।