काठमाडाैं,१४ साउन । नेपाली कांग्रेसले क्रियाशील सदस्यता विवाद पाँच दिनभित्र टुंग्याउने भएको छ ।
बिहीबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले भदौ १६/१९ मा महाधिवेशन सम्पन्न गर्न पाँच दिनभित्र विभिन्न जिल्लामा देखिएको क्रियाशील सदस्यता सम्बन्धि विवाद टुंग्याउने निर्णय गरेको हो ।
बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै नेपाली कांग्रेस केन्द्रीय सदस्य एवम् क्रियाशील सदस्यता छानविन समिति संयोजक रमेश लेखकले पाँच दिनभित्र सबै विवाद मिलाएर निर्धारित समयमै महाधिवेशन सम्पन्न गर्ने निर्णय भएको जानकारी दिए ।
नेताहरूसँगको छलफल र परामर्शपछि केन्द्रीय तहमा प्रस्तुत गरिएका विषयहरु निर्णय गर्ने गरी अघि बढ्ने उनले बताए। क्रियाशील सदस्यता छानबिन समिति सदस्य प्रदीप पौडेलका अनुसार सप्तरी, बारा धनुषा ४, सर्लाही २, सिन्धुपाल्चोक र रसुवामा रहेको विवादबारे केन्द्रीय नेतृत्वले टुंग्याउने निर्णय गरेकाे छ ।






