काठमाडौं,१२ साउन । जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेशसभाका ३ जना प्रदेशसभा सदस्यलाई कारबाही गरेको छ ।
मंगलबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले जसपाका लुम्बिनी प्रदेशसभा सदस्यहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डे लम्साल लाई प्रदेशसभा सदस्यबाट कारबाही गर्ने निर्णय गरेको हो ।
पार्टीको निर्णय विपरीत लुम्बिनी प्रदेश सरकारमा सहभागी भएको भन्दै उनीहरुलाई यसअघि पनि जसपाले पार्टीबाट निष्कासन गरेको थियो । जसपाको निर्णयको आधारमा लुम्बिनी प्रदेशसभा सचिवालयले उनीहरु सांसद नरहेको भनी सूचना प्रकाशित गरिसकेको थियो ।
पार्टी र प्रदेशसभा सचिवालयको निर्णय विपरीत रिट लिएर सर्वोच्च अदालत गएका उनीहरुको पद मुद्दाको टुंगो नलागे सम्मका लागि थमौती भएको थियो । उपेन्द्र यादव पक्षले निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि फेरि ती प्रदेश सभा सदस्यहरूलाई कारबाही गरेको हो ।
लुम्बिनी प्रदेश सरकारमा जसपाका ४ जना सांसद सहभागी भए पनि केही दिनअघि सुमन शर्मा रायमाझीले राजीनामा दिएकी थिइन् ।
मंगलबार बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीको संसदीय दलको विधान अनुमोदन गरेको छ । त्यस्तै नवराज सुवेदीको संयोजकत्वमा रमेश यादव र सुशीला श्रेष्ठ सदस्य रहने गरी ३ सदस्यीय निर्वाचन समिति गठन गरेको छ ।
त्यस्तै जसपाको तर्फबाट स्थानीय तहमा निर्वाचित तर अन्य पार्टीमा गएका जनप्रतिनिधिलाई पदमुक्त गर्न निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको कार्यकारिणशी सदस्य गंगा श्रेष्ठले जानकारी दिए ।








