काठमाडौ,१२ साउन ।
सरकारले लुम्बिनी प्रदेशको प्रदेश प्रमुखमा अमिक शेरचन र गण्डकी प्रदेशमा पृथ्वीमान गुरुङलाई नियुक्ति गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले दुई वटा प्रदेशका प्रदेश प्रमुखहरुलाई हटाएर नयाँ नियुक्त गर्ने निर्णय गरेको हो ।
नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि सरकारले आजै राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
यसअघि ओली सरकारले गण्डकी प्रदेश प्रमुखबाट अमिक शेरचनलाई हटाएर सीताकुमारी पौडेललाई नियुक्त गरेको थियो ।
त्यसैगरी लुम्बिनीका प्रदेश प्रमुख धर्मनाथ यादवलाई हटाएर उनको ठाउँमा अमिक शेरचनलाई नियुक्त गर्ने निर्णय गरेको हो । संविधान अनुसार एकै प्रदेशमा एकचोटि भन्दा बढी प्रदेश प्रमुख बन्न नपाइने भएकाले शेरचनलाई गण्डकी नपठाएर लुम्बिनी पठाइएको जनाइएको छ ।
संविधानको धारा १६३ को उपधारा ४ मा एकै व्यक्ति एक पटकभन्दा बढी एकै प्रदेशमा प्रदेश प्रमुख हुन सक्ने छैन भन्ने उल्लेख छ ।
प्रदेश प्रमुखको नियुक्ति र बर्खास्तीको अधिकार संविधानले मन्त्रीपरिषदकाे सिफारिसमा राष्ट्रपतिलाई दिएको छ । धारा १६३ को २ मा भनिएको छ, ‘राष्ट्रपतिले प्रत्येक प्रदेशका लागि एक प्रदेश प्रमुख नियुक्ति गर्नेछ ।’ त्यसैगरी उपधारा ३ मा भनिएको छ, ‘राष्ट्रपतिले पदावधि समाप्त हुनुभन्दा अगावै निजलाई पदमुक्त गरेमा बाहेक प्रदेश प्रमुखको पदावधि पाँच वर्षको हुनेछ ।’
सरकारले प्रदेश २ का प्रदेश प्रमुख डा. राजेश झा अहिराजलाई पनि हटाउने तयारी गरेकोमा मंगलबारको मन्त्रिपरिषदले यसबारे निर्णय नगरेकाे जनाइएको छ । प्रदेश २ मा जसपाका तर्फबाट प्रदेश प्रमुख पठाउने गठबन्धनका दलहरुबीच सहमति भएकोमा जसपाले नाम नपठाएकाले निर्णय हुन नसकेको बताइएको छ ।








