पार्टीका अर्का संयाेजककाे असहमति
काठमाडौँ,११ साउन । विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले संघीयताको खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्ने प्रस्ताव गरेका छन् ।

पार्टीमा छलफल तथा बहसका लागि भन्दै अध्यक्ष मिश्रले मार्ग परिवर्तन : ‘विचारभन्दा माथि देश’ भन्ने दस्तावेज प्रस्तुत गरेका हुन् ।
उनले स्थानीय निकायकाे पुनर्संरचना र सुदृढ गर्दै संघीयताको खारेजीको प्रस्ताव अघि सारेका छन् ।

दस्तावेजमा संघीयता थप भ्रष्टाचार र आर्थिक भारको स्रोत, संघीयता नेपालको अखण्डताको लागि घातक, नेपालका प्रमुख संस्थाहरूलाई क्षयीकृत गर्ने अर्को कडी, किन एकजना धर्म निरपेक्षतावादी धर्म निरपेक्षताबारे जनमत संग्रहको माग गर्दैछ ?, कहाँबाट आयो धर्म निरपेक्षताको एजेण्डा ?, हिन्दु राष्ट्र र हिन्दु राष्ट्रवादबीचको अन्तर, गणतन्त्रमाथिको खतरा, महिला, मधेशी, जनजाती लगायत अल्पसंख्यक, सीमान्तकृतहरूको हकहितको सुनिश्चितता, मार्ग परिवर्तनको प्रक्रिया, वैकल्पिक राजनीति/कल्याणकारी लोकतन्त्र के हो, के होइन ?, राजनीतिक-सामाजिक एजेण्डा, राजनीतिक-आर्थिक एजेण्डा, परिशिष्ट: भावना र भूमिका छन् ।
उनलेे नेपालमा राजतन्त्रकाे स्वीकार्यता समेत बढेर गएको जनाएका छन् ।
उता अध्यक्ष मिश्रले संघीयताको खारेजी, धर्म निरपेक्ष राष्ट्रका बारेमा जनमतसंग्रह र राजतन्त्रका विषयमा व्यक्त गरेको विचारप्रति पार्टीका अर्का संयोजक मिलन पाण्डेले असन्तुष्टि जनाएका छन् ।
मिश्रको उक्त प्रतिवेदनप्रति संयोजक पाण्डेले सामाजिक सञ्जाल ट्वीटर मार्फत असन्तुष्टि सार्वजनिक गरेका हुन् । घोषणापत्र, प्रस्तावित विधान अनुसार विवेकशील साझा पार्टी सामाजिक न्याय, समावेशीता र गणतन्त्रको जगमा बनिरहेको प्रोग्रेसिभ पार्टी हो,’ पाण्डेले भनेका छन्, ‘विगतमा भएका आन्दोलनका उपलब्धिहरूको रक्षा गर्ने र संविधानको पूर्णतः पालना गर्ने प्रतिबद्धतामा पार्टी दृढ छ । बाँकी विचारहरू ‘नितान्त व्यक्तिगत’ हुन् ।’
अध्यक्ष मिश्रकाे विचारलाई नितान्त व्यक्तिगत धारणा भएको भन्दै पाण्डेले ती विचारसँग पार्टीको कुनै सम्बन्ध नभएको बताएका छन् ।