काठमाडौं,११ साउन । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको छ ।
केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्य यादव पक्षमा भएकाले आयोगले उनैलाई आधिकारिकता दिएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
जसपाका अध्यक्षद्वय यादव र महन्थ ठाकुर पक्षबीच आधिकारिकता सम्बन्धी विवाद भएपछि निर्वाचन आयोगले केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुलाई साेमबार आयोगमै बोलाएर को कसको पक्षमा भनेर सनाखत गराएको थियो ।
५१ सदस्यीय कार्यकारिणी समितिमा ३४ जनाले उपेन्द्र यादव पक्षमा रहेको भनी हस्ताक्षर गरेका छन् । त्यस्तै महन्थ ठाकुर पक्षमा १६ र रेशम चौधरी भने तटस्थ बसेकाे जनाइएको छ ।
महन्थ ठाकुर पक्षलाई अर्को छुट्टै दल गठन गर्न सक्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।








