काठमाण्डाै,१० साउन । अनलाइन फारम भर्न नपाएकै कारण कोही व्यक्ति खोप लगाउनबाट वञ्चित नहुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना विरुद्धको खोपका लागि अनलाइनमार्फत फारम भर्नु पर्ने नियम बनाएको सरकारले फाराम नभरेकै आधारमा खोपबाट वञ्चित भने हुनु नपर्ने जनाएको हो ।

खोप लगाउने र खोप लगाइसके पछि प्रमाणपत्र लिनेहरुको भीड बढेपछि अहिले अनलाइन दर्ताको व्यवस्था गरिएको मन्त्रालयकाे भनाइ छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन इकाईले देशभरको सबै स्वास्थ्य कार्यालयलाई पत्र पठाउँदै गएको १ गतेदेखि अनलाइन दर्ताको व्यवस्था मिलाउन निर्देशन दिएको थियोे ।

यो प्रक्रिया झन्झटिलो भएकाले इन्टरनेटको पहुँच नभएका ठाउँका नागरिक खोपबाट वञ्चित हुने हो कि भन्ने आशङ्का बढेको थियो । तर, स्वास्थ्य मन्त्रालय अन्तर्गतको खोप शाखा प्रमुख डाक्टर झलक शर्मा गौतमले भीड नियन्त्रणका लागि मात्रै यो प्रयास गरिएको भन्दै यसबाट कोही पनि खोप लगाउनबाट बञ्चित हुनुनपर्ने दाबी गरे ।

खोप अभियानबारे आफ्नो जिल्लाले बनाएको नियम र सूचनाबारे जानकारी राख्न पनि उनको सुझाव छ । स्वास्थ्य मन्त्रालयले अहिले ५० वर्षभन्दा माथिका नागरिक र निश्चित वर्ग तथा पेसा छुट्याएर खोप अभियान सञ्चालन गरिरहेको छ । काठमाण्डौमा भने १८ वर्षभन्दा माथिका नागरिकलाई पनि एक मात्रा लगाए पुग्ने अमेरिकी खोप दिइएको छ ।

अमेरिकाबाट आएको कोभ्याक्स सुविधाको १५ लाख खोप सुरुमा ५० देखि ५४ वर्षका नागरिक, नेपालमा बसोबास गर्ने शरणार्थी तथा यसअघि खोप लगाउन छुटेका स्वास्थ्यकर्मी र सफाइकर्मीलाई दिने भनिए पनि खोप बढी भएपछि १८ वर्षभन्दा माथिका अरु नागरिकलाई पनि दिइएको हो ।

यस्तै, ५५ वर्षभन्दा माथिकालाई चिनियाँ भेरोसेल खोप दिइ राखिएको छ । स्वास्थ्य मन्त्रालयले छिट्टै १८ देखि ५० वर्ष उमेर समूहलाई पनि खोप दिने जनाएको छ ।