काठमाडौ,९ साउन ।
लागुऔषध कोकिनका कारोबारीसँगै एक प्रहरी जवान सहित काठमाडौबाट ५ जना पक्राउ परेका छन् ।

लागुऔषध काराेबारी पक्राउ गर्न गएको प्रहरीले आफ्नै संगठनका सदस्यलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा प्रहरी जवान एकराज गुरुङ रहेका छन् । गोरखा आरुघाट गाउँपालिका-६ घर ३२ वर्षीय जवान गुरुङ काठमाडौं टोखा नगरपालिका-११ मा बस्दै आएकाे प्रहरीले जनाएको छ ।

हुम्ला जिल्लामा दरबन्दी रहेका उनी कार्यालयमा विदा लिएर हिँडेका थिए ।
त्यस्तै पक्राउ पर्नेमा गोरखा-६ का २९ वर्षीय मुकुन्द खड्का, गोरखा गण्डकी गाउँपालिका-४ फुजेलका ३१ वर्षीय मन गुरुङ, गोरखा-८ का ४० वर्षीय रेशमबहादुर राना छन् ।

उनिहरूलाई लागुऔषध नियन्त्रण ब्युरोको टोलीले काठमाडौं-१६ पकनाजोलस्थित एक होटलबाट शुक्रबार पक्राउ गरेको हो ।
लागुऔषध कारोबारीहरूसँग रहेका जवान गुरुङसहित अन्य चार जना पक्राउ परेका व्यक्ति पनि गोरखाकै छन् । उनीहरूबीच चिना परिचय रहेको पत्ता लागेको छ ।

ब्युरोका अनुसार उनीहरूको साथबाट पाँच सय ग्राम कोकिन बरामद भएको छ। उक्त कोकिनको बजार मूल्य करिब डेढ करोड रहेको ब्युरोका प्रहरी वरिष्ठ उपरीषक हृदय थापाले जानकारी दिए ।

थापाका अनुसार लामो समयको निगरानीपछि उनीहरूलाई पक्राउ गरिएको थियो। ‘लागुऔषधको कारोबार भइरहेको छ भन्ने थाहा पाएपछि हाम्रो टोली गएको थियो,’ थापाले भने।

पक्राउ परेका यी चार जना भने ग्राहक खोज्दै त्यहाँ पुगेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। कोकिनका मुख्य कारोबारी भने अर्कै छन् । ‘ती कारोबारीको पहिचान भइसकेको छ,’ थापाले भने।

उनीहरूसँगै सुर्खेत गर्भाकोट नगरपालिका-२ का २८ वर्षीय नन्दलाल मान्त पनि पक्राउ परेका छन् । उनी भने नक्कली सुनका कारोबारी रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका व्यक्तिहरूले नक्कली सुनको कारोबार समेत गर्ने गरेको पाइएको एसएसपी थापाले बताए ।