काठमाडौं, ८ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि काठमाडौं उपत्यकाका चार अस्पतालबाट कोरोना खोप लगाएका नागरिकको खोप कार्ड प्रमाणीकरण सुरु गरेको छ ।

एक ठाउँबाट मात्रै खाेप कार्ड प्रमाणीकरण गर्दा वैदेशिक राेजगारीमा जान लागेका युवाहरू घण्टाै लाइनमा बस्नुपर्ने गुनासो आएपछि स्वास्थ्य मन्त्रालयले आजदेखि उपत्यकाका चार अस्पतालबाट खाेप कार्ड प्रमाणीकरण गर्ने व्यवस्था मिलाएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालचियकाे सचिवस्तरीय निर्णयले आजदेखि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालसहित निजामती अस्पताल, पाटन अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा खोप कार्ड प्रमाणीकरण गर्ने निर्णय भएको स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा अन्तरगतको खोप महाशाखा प्रमुख डा‍‍. झलक गौतमले जानकारी दिए ।

यसअघि टेकु अस्पतालबाट मात्रै खोप कार्ड प्रमाणीकरणको काम हुँदा विदेश जाने तयारीमा रहेका नेपाली नागरिकहरु मध्यरातदेखि अस्पतालको गेटमा खोप कार्ड प्रमाणीकरण गर्न ठेलमठेल गरी लाइनमा बस्नु पर्ने बाध्यता रहेको थियो ।

आजैदेखि चार वटै अस्पतालबाट निःशुल्क रुपमा खोप कार्ड प्रमाणीकरणको काम शुरु भइसकेको डा. गौतमले बताए ।