काठमाण्डाै,८ साउन ।
सहिद स्मारक ‘ए’ डिभिजन लिग असोज पहिलो हप्तादेखि आयोजना हुने भएकाे छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले निर्धारित समयमा नै लिग हुने बताएका हुन् ।

लिग रोक्न माग गर्दै १४ क्लब मध्येका चार ‘ए’ डिभिजन क्लबले मङ्गलवार अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई ज्ञापन पत्र बुझाएसँगै लिग हुने नहुनेमा अन्योल देखिशशएकाे थियाे । तर, एन्फाका अध्यक्ष शेर्पाले भने चार क्लबको ज्ञापनपत्रले लिग नराेकिने जनाएका हुन् ।

कोरोना महामारीको विषम परिस्थितिमा लिग सञ्चालन गर्न कठिन हुने भन्दै ललितपुरका चार क्लबले लिग रोक्न एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई ज्ञापन पत्र बुझाएका थिए ।
त्यही विषयलाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेको अवस्थामा एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले कुनै क्लबले लिग रोक्न दिएको ज्ञापन पत्रले केही फरक नपर्ने भन्दै निर्धारित मितिमै लिग हुने बताएका हुन् ।

सहिद स्मारक ‘ए’ डिभिजन लिग २०२१ असोज ३ गतेदेखि आयोजना गर्ने तालिका एन्फाले यसअघि नै सार्वजनिक गरेको छ । एन्फाले यसअघि नै पदाधिकारीहरुसँगको छलफलबाट असोज पहिलो हप्तादेखि लिग सुरु गर्ने बताइसकेको थियो । त्यही बैठकबाट ‘ए’ डिभिजन लिगका लागि खेलाडी दर्ता साउन १५ गतेबाट खुला पनि गरेको थियो ।

उनले चार क्लबको सहभागिता हुनेमा आशावादी रहेको र आइतवार छलफल हुने बताए । लिगमा सहभागी नभए लिग नियमावली अनुसार हुने बताए अध्यक्ष शेर्पाले बताए ।

असोजबाट हुने लिगमा ‘बी’ डिभिजन लिगबाट बढुवा भएको सातदोबाटो युथ क्लबसहित १४ क्लबले प्रतिस्पर्धा गर्दैछन् । अघिल्लो सिजनमा लिगको पुछारमा रहेर लिग टुङ्ग्याएको सरस्वती यो सिजनमा हुने छैन । शीर्ष डिभिजन लिग करिब ६ महिना सञ्चालन गर्ने तयारी छ । फरक ढाँचामा सञ्चालन गर्न लागिएको लिगमा पहिलो चरणमा सबै क्लबले एक आपसमा प्रतिस्पर्धा गर्नेछन् भने त्यसपश्चात शीर्ष ८ टोली उपाधिका लागि प्रतिस्पर्धा गर्ने जनाइएको छ ।