काठमाडौँ, ७ साउन । चीनको राजधानी बेइजिङबाट थप आठ लाख मात्रा कोरोनाविरुद्धको भेरोसेल खोप बिहीबार काठमाडौँ आइपुगेको छ ।
नेपाल सरकारले खरिद गरेको उक्त परिमाणकाे खोप आज दिउँसो साढे २ काठमाडौँ आइपुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

चीनसँग खरिद गरेको ८ लाख मात्रा खोप यसअघि असार २५ गते नेपाल एयरलाइन्सकै विमान मार्फथ नेपाल ल्याइएको थियो । खोप ल्याएको विमान थप खोप लिनका लागि आजै पुनः बेइजिङ जाने कार्यतालिका रहेको छ ।

नेपालमा अबको तीन दिनभित्र २५ लाख मात्रा खोप आउने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । अब साउन ९ गते नेपाल एयरलाइन्सको विमान खोप लिन पुनः बेइजिङ जाने छ । चीन सरकारले यसअघि अनुदान सहयोगमा १८ लाख मात्रा खोप नेपाललाई उपलब्ध गराएको थियो ।