काठमाण्डाै,७ साउन । निर्वाचन आयाेगले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता सम्बन्धि विवादकाे निरूपण कार्यकारिणी समितिका सबै सदस्यको सनाखतका आधारमा गर्ने भएको छ ।

बिवाद निरूपणका लागि निर्वाचन आयाेगद्वारा गठित इजलासमा बिहीबार भएको सुनुवाइ पश्चात् इजलासले उक्त निर्णय गरेको हो ।

आइतबारदेखि मुद्दाको सुनुवाइ थालेको इजलासमा बिहीबार दुवै पक्षका कानुन व्यवसायीले आ आफ्नो पक्षमा बहस गरेका थिए ।
आधिकारिकताको विवाद समाधानका लागि आयोगको इजलासले साउन ११ गते तत्कालीन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी एकता भएर जनता समाजवादी पार्टी बनेकै बखतका ५१ जनालाई आयोगमा उपस्थित गराएर सनाखत गराउने निर्णय गरेको हो । ५१ जनामध्ये जसको पक्षमा बहुमत छ उसैलाई आधिकारिकता दिने आयोगको तयारी छ ।

यसअघि नै आफूसँग बहुमत दाबी गरेको उपेन्द्र यादव पक्षले सर्वोच्चको फैसलापछि पाँच जना सदस्य आफूतर्फ आएकाले सजिलै बहुमत पुग्ने जनाएको छ । नेता मोहम्मद इस्तियाक राईले आफ्नो पक्षमा ३३ जना सदस्य रहेको दाबी गरे । अब आयोगले आफूहरूलाई मान्यता दिने भएकाले ठाकुर समूहले या विगतका गल्तीलाई आत्मालोचना गरेर बस्नुपर्ने या अर्कै पार्टी खोल्नुपर्ने अवस्था आउने उनलेे बताए ।

महन्थ ठाकुर पक्षले पनि बहुमतको दाबी गर्दै आएको छ । आयोगले जसपा विवादबारे टुङ्गो लगाउन प्रमुख आयुक्त दिनेश थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको थियो ।