काठमाडौ,७ साउन ।
नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले अब अपमान सहेर बस्न नसकिने बताएका छन् ।
४३औं पुष्पलाल स्मृति दिवसका अवसरमा बिहीबार चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा आयोजित कार्यक्रममा बोल्दै उनले चुनौतीबीच नै व्यक्तिको परीक्षण हुने बताए । कम्युनिष्टको नाम र झण्डा दुरुपयोग गर्न नहुने बताउँदै उनले चुनौतीबाटै खारिएर कम्युनिस्ट राजनीति गर्नुपर्ने बिचार व्यक्त गरे ।
आफूलाई पार्टीभित्रका विभिन्न घाउखटिराले दुःख दिँदै आएको बताउदै नेता नेपालले भने- “आफूले बनाएको घर त्यसै छाडेर जाने चाहना कसैको हुन्न । तर, अपमान सहेर, गलत कुरा सहेर बस्न सकिँदैन ।”
एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाल लगायत २२ जना सांसदलाई कारबाही गर्न बुधबार स्पष्टीकरण पत्र पठाएका छन् । यसअघि पनि नेपाललाई दुई पटक स्पष्टीकरण सोधिएको थियो भने एक पटक पार्टीबाट निकालिएको घोषणा गरिएको थियो ।
नेता अहंकारी भए कि भनेर जाँच्नुपर्ने बताउदै उनले बताए ।एमाले अध्यक्ष ओलीतिर संकेत गर्दै नेपालले अरूको अपमान गर्नेले आफ्नो मानसम्मान पनि कायम राख्न नसक्ने दाबी गरे ।
उनलेे राजनीतिक दलका नेता कार्यकर्ताहरूमा लाेकतान्त्रिक चरित्र विकास गर्नुपर्नेमा जाेड दिए । केही दिनअघि युवा संघले निकोलेको जुलुसप्रति इंगित गर्दै उनलेे भने, “कहिले स्याल हुइयाँ, कहिले बरन्डामा ऊफ्रिने र कहिले बाँदर जुलुसको नाटक भइरहेको छ। यस्तो प्रवृत्ति कम्युनिष्ट चरित्र होइन।”
प्रतिष्ठानका अध्यक्ष समेत रहेका नेपालले पुष्पलाल श्रेष्ठको जीवनी ‘नेपाल रत्न पुष्पलाल’ को विमोचन गरेका छन्।








