काठमाण्डाै,७ साउन । जनता समाजवादी पार्टी (जसपा)को विवाद निरुपण गर्न निर्वाचन आयोगद्वारा गठित इजलास आज बस्दैछ । आयोगले आज दुवै पक्षको बहस टुंग्याउने तयारी गरेको छ ।
पहिलो चरणको बहस सकिएपछि आयोगले दुवै पक्षलाई आआफ्नो सक्कल प्रमाण पेस गर्न आदेश दिएको थियो ।
दुवै पक्षले आआफ्नो प्रमाण पेस गरेपछि आज त्यसमा बहस हुने आयाेगले जनाएको छ ।
प्रस्तुत प्रमाणमा दुवै पक्षका अधिवक्ताहरूले दुई–दुई घण्टा आ–आफ्नो पक्षमा बहस गर्नेछन् । अरु अधिवक्ताले केही भन्न चाहन्छन् भने बहस नोट लेखेर दिन सक्छन् । बहस सकिएपछि आयोगको इजलासले प्रमाण हेरेर आजै नतिजा दिनसक्ने छ ।
प्रमाणमा चित्त नबुझे कसको पक्षमा बहुमत छ भन्ने निर्क्यौलका लागि कार्यकारिणी सदस्यहरुलाई आयोगमा उपस्थित गराएर सनाखत गराउन सकिने सम्भावना पनि रहेको जसपा उपेन्द्र यादव पक्षका वरिष्ठ अधिवक्ता वीरेन्द्र ठाकुरले बताए ।
यादव पक्षले पार्टी दर्ता भएको बेला आयोगमा प्रस्तुत गरेको कार्यकारिणी सदस्यको आधारमा बहुमतको दावी गरेको छ भने महन्थ ठाकुरले पुस ७ गते भएको कार्यकारिणी समितिको बैठकले आफूलाई अधिकार दिएको दावी गर्दै त्यसको आधारमा हेरफेर गरिएको कार्यकारिणी समितिलाई बहुमतको आधार मानेको छ ।
यसका लागि दुवैतर्फले आआफ्नो प्रमाण पेस गरेका छन् । त्यसमा आयोगले अध्ययन गरिरहेको छ । ठाकुर पक्षले आयोगमा फर्जी प्रमाणहरु पेस गरेको दावी गरिएको छ ।
जसपाका अध्यक्ष यादवले पुस ७ गते त्यस्तो कुनै निर्णय नभएको दावी गरेका छन् । उनले त्यो बैठकपछि दुवैजना अध्यक्षको हस्ताक्षरबाट जारी गरिएको विज्ञप्तिमा सो कुरा कतै उल्लेख नरहेको र पार्टीका नेता तथा कार्यकर्तालाई गरिएको आन्तरिक सर्कुलरमा पनि त्यो कतै उल्लेख नभएको दावी गरेका छन् ।
तर अर्का अध्यक्ष महन्थ ठाकुरले आफूलाई कार्यकारिणी समिति हेरफेर गर्ने अधिकार दिएको कुरा माइन्युटमै उल्लेख भएको र त्यो प्रमाण निर्वाचन आयोगमा पनि पेस गरिएको बताए । कसले फर्जी गरेका छन्, कसले गरेका छैनन् त्यसको निर्णय निर्वाचन आयोगले गर्ने उनले बताए ।
जसपाको केन्द्रीय कार्यकारिणी समितिको बहुमत, अल्पमत हेरेर निर्णय लिइने आयोगले जनाएको छ । राजनीतिक दलसम्बन्धी ऐनमा लिखित जवाफ र प्रमाणको आधारमा कुनै पक्षलाई मान्यता दिने अवस्था नरहे केन्द्रीय समितिमा बहुमत रहेको पक्षलाई दलको आधिकारिकता दिने प्रावधान छ ।
जसपा विवादबारे टुंगो लगाउन आयोगले प्रमुख आयुक्त दिनेश थपलियाको नेतृत्वमा पाँच सदस्सीय इजलास गठन गरेको थियो ।
इजलासले गएको आइतबारदेखि सुनुवाइ सुरु गरेको हो ।








