काठमाण्डौ,७ साउन ।
नेपाल उद्योग परिसंघको अध्यक्षम उद्यमी विष्णुकुमार अग्रवाल चयन भएका छन् ।
बुधबार सम्पन्न परिसंघको १८ औँ वार्षिक साधारण सभाबाट अग्रवाल अध्यक्षमा चयन भएका हुन् । अग्रवाल यसअघि परिसंघको वरिष्ठ उपाध्यक्ष रहेका थिए ।
त्यस्तै उनिले यसअघि परिसंघ अन्तर्गतको योङ इन्टरप्रेनर फोरमको नेतृत्व गरिसकेका छन भने परिसंघको पूर्वाधार विकास समितिको सभापति भएर पनि काम गरिसकेका छन् ।
पूर्व फुटबल खेलाडीसमेत रहेका अग्रवाल नेपाल सुपर लिग विजेता काठमाण्डौ रेजर्स फुटबल क्लबका प्रोमोटर हुन् ।
नेपालका लागि चेक रिपब्लिकका अवैतनिक महावाणिज्यदूत अग्रवाल एमएडब्ल्यू ग्रुप अफ कम्पनिजका प्रबन्ध निर्देशक रहेका छन् ।
साधारण सभाले परिसंघको ३७ जना राष्ट्रिय परिषद् सदस्य चयन गरेको छ । त्यस मध्येबाट सात जना उपाध्यक्ष चयन हुनेछन् ।
राष्ट्रिय परिषदमा संस्थापक समूहबाट अमितमोर, रतनलाल केडिया, राहुलकुमार अग्रवाल, सन्दीपकुमार शारडा, वरुण कुमार तोडी, शुलभ अग्रवाल, अमित बेगानी, विकास दुगड, राजेश कुमार अग्रवाल, चन्द्र टण्डन, अनुज अग्रवाल, अर्पित अग्रवाल, दीपक अग्रवाल, सुरज भक्त पौडेल, निर्वाण कुमार चौधरी, विक्रम सिंघानिया, दिलिप अग्रवाल, शरद कुमार टिबडेवाला, रोहित गुप्ता र आदित्य संघाई चयन भएका छन् ।
यसैगरी प्रतिष्ठानगत तर्फबाट हेमराज ढकाल, निकोलस पाण्डे, वीरेन्द्र राज पाण्डे, वर्षा श्रेष्ठ, लक्ष्मी प्रसाद सुवेदी, गुरु प्रसाद न्यौपाने, राजीवकुमार गुप्ता, राजबहादुर शाह, पम्फा धमला, आशीष गर्ग, द्विराज शर्मा (सिवाकोटी), अशोक शेरचन, तारा प्रसाद पौड्याल र हितेश गोल्छा चयन भए ।
त्यस्तै संस्थागत सदस्य समूहतर्फबाट गोकुल भण्डारी, कृष्णप्रसाद अधिकारी र वसन्तबहादुर चन्द राष्ट्रिय परिषद् सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।
यसैबीच परिसंघको साधारण सभामा प्रधानमन्त्री शेरबहादुर देउवाले युनिएन अफ एसिएन चेम्बर्सको शुभारम्भ गरेका छन् । एसियाली देशका चेम्बरको साझा मञ्च निर्माण गर्ने उद्देश्यले युनिएन अफ एसिएन चेम्बर्सको शुभारम्भ गरिएको हो ।
युनिएन अफ एसिएन चेम्बर्सको नेतृत्व अहिले परिसंघका उपाध्यक्ष निर्वाण चौधरीले गरेका छन् । कार्यक्रममा चौधरीले एसियाली देशमा व्यापार सहजीकरण गर्ने, क्षेत्रीय आर्थिक विकासमा योगदान गर्ने र एसियालाई २१ औँ शताब्दीको आर्थिक केन्द्र बनाउने गरी अघि बढ्ने उद्देश्य राखिएको जानकारी गराए ।








