काठमाडौँ,५ साउन । नेकपा एमालेको माधव नेपाल समूहले अध्यक्ष केपी शर्मा ओली पक्षले सोधेको स्पष्टीकरणको जवाफ नदिने भएको छ ।

सोमबार बेलुका माधव नेपालसहितका २२ सांसदहरुबीच स्पष्टीकरणको जवाफ दिने कि नदिने भन्ने विषयमा छलफल भएको छलफलले जवाफ दिन जरुरी नरहेको निष्कर्ष निकालेको सांसद मेटमणि चौधरीले जानकारी दिए ।
एमाले ओली पक्षको सोमबारै बसेको केन्द्रीय समिति बैठकले पार्टीको ह्वीप उल्लङ्घन गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

पार्टी विवादपछि कोही एमाले नरहेको भन्दै एमाले सांसद चाैधरीले दुवै पक्षले एकले अर्कोलाई मान्यता नदिएर समूह चलाइरहेको बताए ।

उनले एमाले हुनलाई २०७५ जेठ २ मा फर्कनुपर्ने भन्दै ओली नै जेठ २ मा नफर्किएकाले यस्तो अवस्था आएको बताए । ‘एमाले हुनलाई २०७५ जेठ २ मा फर्कनुपर्छ । त्यो ठाउँमा कोही नपुगेको अवस्थामा एउटा समूहले अर्को समूहलाई स्पष्टीकरण सोध्नुकाे कुनै अर्थ हुँदैन’, चौधरीको भनाइ छ ।

ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा बसेको एमाले बैठकमा अध्यक्ष ओलीले एमालेका सांसदहरूले देउवालाई विश्वासको मत दिएर शर्मनाक र लज्जास्पद चरित्र देखाएको बताएका थिए । अध्यक्ष ओलीले देउवालाई भोट हाल्ने २२ जना नेता एमालेमा नफर्कने निष्कर्ष सुनाउँदै उनीहरूबिनै एमाले पार्टी चल्ने सङ्केत गरेका थिए । सोमबारै जारी केन्द्रीय कमिटी बैठक रोकेर अध्यक्ष ओलीको निजी निवास बालकोटमा स्थायी समिति बैठक बसेको थियो । उक्त बैठकमा देउवालाई भोट हाल्ने २२ जनालाई कस्तो कारबाही गर्ने भन्नेबारे छलफल भएको थियो ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले फ्लोर क्रस गर्ने २२ जनालाई स्पष्टीकरण पत्र पठाएको भन्दै सम्भव त आज बस्ने केन्द्रीय कमिटी बैठकले उनीहरूमाथि गर्ने कारबाहीबारे निर्णय हुनसक्ने बताए ।