काठमाडौँ,४ असार ।
नेकपा एमाले केन्द्रीय कमिटी बैठक आज बस्दै छ । पार्टी अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बिहान ११ बजेका लागि बैठक बाेलाएका हुन् ।
बैठकमा विधान अधिवेशन र पार्टीको निर्देशन अवज्ञा गर्ने नेतामाथि कारबाहीका सन्दर्भमा छलफल हुने जनाइएको छ ।
आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा विपक्षमा मतदान गर्न दिएको निर्देशन बिपरित एमालेका ३३ जना सांसदले पार्टी ह्वीप उलङ्घन गरेका थिए । जसमा २२ जनाले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका छन् ।
माधव नेपाल पक्षका आठ जनाले मतदान नहुँदै सदन छोडेर तटस्थताको नीति लिएका थिए भने अध्यक्ष केपी ओली पक्षकै ८ जनाले पनि फ्लोर क्रस गरेर विश्वासको मत दिएका थिए ।
विश्वासको मत दिएकै कुरालाई कारबाहीको विषय बनाउन नपाइने सर्वोच्च अदालतको फैसला रहेकाेले पार्टीको अनुशासन बिपरित काम गरेको आराेपमा उनिहरूमाथी कारबाही गरिने एमाले नेता सेर बहादुर तामाङले बताए ।
प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएको विषयमा कारबाही नभए पनि कारबाहीका अन्य विषय पनि रहेको तामाङले बताए ।
‘विश्वासको मत दिएको विषयमा सांसद पद खारेज नहोला । तर अन्य विषयमा कारबाही हुन्छ । सांसद पद पनि जान्छ । आजको बैठकले प्रक्रिया पुर्याएर अगाडि बढ्छौँ,’ उनले भने ।
एमालेले यही साउन २५ देखि २७ सम्म विधान अधिवेशन गर्दै छ । केन्द्रीय कमिटी बैठकले साउन २५ देखि २७ सम्म विधान अधिवेशन गर्ने निर्णय गरेको थियो । त्यस बिषयमा पनि बैठकमा छलफल हुने साे पार्टीले जनाएको छ ।




