काठमाडौं, ३ साउन ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो मुख्य प्राथमिकता कोरोना भाइरसविरुद्धको खोप भएको बताएका छन् ।
प्रतिनिधिसभामा विश्वासको मत माग्ने क्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले आफ्नो सरकारको प्राथमिकतामा खोपमात्रै रहेको बताए ।
विकास भन्दा नागरिकको जीवन रक्षा आफ्नो प्राथमिकतामा रहेको बताउदै प्रधानमन्त्री देउवाले भने ‘पहिलो प्राथमिकता खोप, दोस्रो प्राथमकिता खोप, तेस्रो प्राथमिकता खोप ।’
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा बैठकमा उपस्थित नभएकाेमा असन्ुष्टि समेत जनाए । विश्वासको मतमाग्दा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री देउवाले ओली संसदमा आएको भए आफुलाई खुशी लाग्ने बताए ।
आइतबारको प्रतिनिधिसभा बैठकमा ओली सहभागी भएका थिएनन् । नेकपा एमालेको तर्फबाट पार्टी प्रवक्तासमेत रहेका सांसद प्रदीप ज्ञवालीले धारणा राखेका थिए । प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दलका तर्फबाट संसदीय दलको उपनेता सुवास नेम्वाङले धारणा राख्ने अनुमान गरेकामा उनलाई अप्ठेरो परेको हुन सक्ने बताए । संविधानमा भएको धारा ७६ (५) को व्यवस्थाबारे बोल्न अप्ठेरो लागेर नेम्वाङले धारणा नराखेको देउवाले टिप्पणी गरे ।
देउवाले लिम्पियाधुरासहितको नेपालको नक्सा पारित गरकामा एक्लै जस नलिन नेकपा एमालेलाई आग्रह गरे । प्रतिनिधिसभामा सबै सांसदले एकमतले नक्सा पारित गरेको भन्दै देउवाले एक्लै जस नलिन आग्रह गरे ।
प्रधानमन्त्री देउवाले मधेसको मुद्दामा आफू छलफल गर्न तयार रहेको पनि बताए ।








