काठमाडाैं,३ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले लाेकतन्त्रकाे सामान्य सिद्धान्त समेत पालना नगरेको बताएका छन् ।
उनलेे गाेहीको आँशु चुहाएर अब कसैले पत्याउँछ र भनेर नेकपा एमालेका नेताहरूलाई प्रश्न समेत गरे ।
प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवाले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै अध्यक्ष प्रचण्डले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम शेरबहादुर देउवा प्रधानमन्त्री भएकोमा एमालेलाई टाउको दुख्नुपर्ने कारण नरहेको प्रस्ट पारे ।
एमालेका नेताहरूले संविधानको धारा ७६ को उपधारा ५ ले निर्दलीयता निम्त्याउने, लोकतन्त्र सङ्कटमा पर्ने भनेर दिँदै आएको अभिव्यक्तिलाई लक्षित गर्दै प्रचण्डले गोहीको आँशु नबगाउन सुझाव दिए ।
प्रचण्डले दुई तिहाइको प्रधानमन्त्रीले पटक-पटक संसद् विघटन गर्ने र मुलुकलाई दुर्घटनामा धकेल्ने पहिलोपटक भएको बताएका छन् । ‘दुई तिहाइको प्रधानमन्त्रीले पटक-पटक संसद् विघटन गर्ने र मुलुकलाई दुर्घटनामा धकेल्ने पहिलोपटक भएको हो । यस्तो दुर्दशा यति छिटो देख्नुपर्ने भए किन गठबन्धन र किन पार्टी एकताको प्रस्ताव लान्थे होला । यो बीचका घटनाक्रम उचित लागिरहेको छैन ।’ उनले भने ।
निवर्तमान प्रधानमन्त्रीको हैसियतमा केपी शर्मा ओलीले संसद्मा बोल्ने अपेक्षा राखे पनि त्यो नभएकोमा प्रचण्डले आपत्ति जनाए । ‘आज प्रमुख सचेतकले सोधे । ओलीजी आउनुहुन्छ, बोल्नुहुन्छ भन्ने सोधे । यो सदनले केपीजीको मुखबाट आफ्ना कुरा सुन्न चाहेको थियो । देशले पनि निवर्तनमान प्रधानमन्त्रीले बोलेको सुन्न चाहेको थियो । यो अलिअलि अस्वाभाविक जस्तो । यो लोकतान्त्रिक संस्कार हो कि अलोकतान्त्रिक हो भन्ने कुरामा पनि,’ प्रचण्डले भने ।
पुस ५ देखि जेठ ८ सम्मका परिघटना ठूलो अपराध, भष्मासुरको अन्त्य भयो : बाबुराम भट्टराई
सङ्घीय समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले पुस ५ पछिका सबै परिघटनाहरू ठूलो अपराध भएको बताएका छन् । आइतबार शेरबहादुर देउवालाई विश्वासको मत दिने सन्दर्भमा आफ्नो भनाइ राख्दै अध्यक्ष भट्टराईले पुस ५ पछिका घटनालाई ठूलो अपराधको संज्ञा दिएका हुन् ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुवातदेखि नै असङ्गत क्रियाकलाप गरेको भन्दै पुस ५ गतेपछिका परिघटनाहरू ठूलो अपराध भएको आरोप लगाएका हुन् । डा। भट्टराईले अदालतको फैसलालाई स्वागत गर्दै संविधान बनाउनेले बिर्सेको र बुझ पचाएको कुरा अदालतले सुन्दर ढङ्गले सम्झाइदिएको बताएका हुन् । देश दुर्घटनाको नजिकै पुगेको बेला अदालतले बचाइदिएको भन्दै संसद् बचाउने सन्दर्भमा अदालतको भूमिका अहम् भएको बताएका हुन् ।
बेलाबेलामा संविधानमाथि असहमति राख्दै आएका भट्टराईले संविधान अपूर्ण भए पनि संविधान विगतको सबै संविधानभन्दा अग्रगामी भएको बताएका छन् । पुस ५ गतेदेखि जेठ ८ गतेसम्मका घटना अशोभनीय रहेको भन्दै अध्यादेशबाटै शासन चलाउने कुरा लोकतान्त्रिक अभ्यास हुन नसक्ने बताए ।
सरकार कामचलाउ भएको अवस्थामा पनि महत्त्वपूर्ण संवैधानिक निकायमा पकेटबाट झिकेर व्यक्ति विशेषलाई नियुक्ति दिइएको भन्दै त्यो लोकतन्त्र विपरीतको कार्य भएको आरोप लगाए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सुरुदेखि नै असङ्गत क्रियाकलापमा संलग्न भएको भन्दै नरक जाने बाटो पनि असल नियतले बनाइएको हुने युक्ति प्रयोग गर्दै भस्मासुरको अन्त्य भएको जिकिर गरे ।
सत्तारुढ नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले सत्ता कसरी चल्छ भनेर अब नेपाली जनताले हेर्ने बताएका छन् । विश्वासको मत लिने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस्तावमाथि प्रतिनिधिसभामा आइतबार भएको छलफलमा भाग लिँदै कांग्रेस सांसद रिजालले सत्ताभन्दा बहिर भए पनि अहंकार नदेखाउन एमाले नेताहरुलाई आग्रह गरे ।
कोरोनाको संक्रमण रोकथामका लागि लकडाउन गरेर अध्यादेश ल्याउन थालेको, जनताको स्वास्थ्यमाथि गम्भीर खेलबाड भएको, प्रतिनिधिसभा विघटन र अदालतमाथि आक्रमण जस्ता काम गरेको भन्दै उनले भने, ‘प्रतिपक्ष कस्तो चल्ला हेर्दै गरौंला, सत्ता कसरी चल्छ भन्ने अब नेपाली जनताले हेर्छन् ।’
कोभिड लागे लागोस्, तर सरकारसम्म आवाज पुर्याउनुपर्छ भनेर जनता इनफ इज इनफ भनेर सडकमा आएको, संसदीय समितिहरुले एकसेएक भ्रष्टाचारबारे छानबिन गर्नु परेको उनले स्मरण गरे । ‘त्यस्तो दिन भोलि आउँदैन, त्यो चाहिँ विश्वास छ शेरबहादुर देउवामाथि,’ आफूभन्दा अगाडि बोलेका एमाले सांसद प्रदीप ज्ञवालीको तर्कको खण्डन गर्दै सांसद रिजालले भने, तपाईंहरुलाई पनि यहाँबाट पाखा लगाउन होइन, हरेक दिन सुनेका टिकाटिप्पणीबाट सच्चिन्छौं ।’
अदालतले माधव नेपाललाई विवेकको मत हाल्न लगाएको होइन
ज्ञवालीको तर्कको खण्डन गर्ने क्रममा कांग्रेस सांसद रिजालले सर्वोच्चको फैसलाको बचाउ गरे । ओली नेतृत्वको सरकार संविधान भत्काउने बाटोमा हिँडेको र संसद जोगाउन विवेकको मत प्रयोग गर्ने संविधानको धारा ७६(५) माथि समेत आक्रमण गरिएको भन्दै उनले भने, ‘संविधान भत्काउने प्रवृत्तिविरुद्ध अदालत गएका हौं । मिलेमतोमा पदीय मर्यादा बिर्सिएर काम गर्नेलाई संविधान छ, संवैधानिक सर्वोच्च छ भनेर सम्झाउने काम मात्र गरेको हो ।’
सत्तारुढ कांग्रेस सांसद रिजालले, अदालतले प्रधानमन्त्री नियुक्त गरेको ज्ञवालीको तर्कको पनि खण्डन गरे । ‘अदालतले पुष्पकमल दाहाललाई त्यहाँ उभिन लगाएको होइन । माधव नेपाललाई विवेकको मत हाल्न लगाएको होइन,’ सम्बोधनका क्रममा उनले भने, ‘तपाईंले लगाएको हो । अहंकारले लगाएको हो ।’
संसद पुनस्र्थापना गर्ने र १४९ सांसदको समर्थन जुटाएका देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने सर्वोच्चको फैसलाले अहंकार देखाउने प्रवृत्ति परास्त भएको तथा लोकतन्त्र र संविधानवादको जित भएको कांग्रेस सांसद रिजालले बताए ।







