काठमाडौँ,३ असार । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहका सांसदहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने स्पष्ट पारेका छन् ।
आफूहरू पहिलेदेखि नै संसद् पूर्णकाल चल्नुपर्ने पक्षमा उभिएकाले अहिले पनि जे गर्दा संसद् पुरा अवधि चल्न सक्छ सोही गर्ने उनिहरूकाे भनाइ छ ।

​‘हामीले संसद् पूर्णकालीन चल्नुपर्छ भन्दै आएका हौ र त्यसका लागि प्रयास गर्दै पनि आएका हौ’, माधव नेपाल समूहका सांसद विरोध खतिवडाले भने, ‘यसमा निर्णय गरिरहनुपर्ने आवश्यकता छैन ।’ देउवाले विश्वासको मत गुमाए पुन संसद् विघटन हुने भएकोले संसद जाेगाउन आफुहरूले देउवालाई विश्वासको मत दिने उनलेे बताए ।

त्यस्तै अर्का सांसद मेटमणि चौधरीले पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने बताए । उनलेे पनि संसद पूरा कार्यकाल चल्न दिन देउवालाई विश्वासको दिनुको विकल्प नभएको बताए ।

एमालेको ओली पक्षले भने देउवालाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ छ । शुक्रबार बसेको एमाले स्थायी समिति बैठकले देउवालाई विश्वासको मत नदिने तर, कसैले दिए उनीहरू एमाले नरहने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताएका थिए ।