विभिन्न क्षेत्रका ५० बढी युवा व्यवसायीहरु जनमुक्ति पार्टीमा प्रवेश बुटवल,३० असार । विभिन्न क्षेत्रमा आवद्ध ५० बढी युवा व्यवसायीहरु राष्ट्रिय जनमुक्ति पार्टीमा प्रवेश गरेका छन् ।
बुधबार भैरहवामा आयोजित एक कार्यक्रमकाबीच रुपन्देही र नवलपरासीका ५० बढी युवा व्यवसायी जनमुक्ति पार्टीमा प्रवेश गरेको साे पार्टीले जनाएको छ ।
नव प्रवेशीहरूलाई पार्टीका केन्द्रीय उपाध्यक्ष,महासचिव,उपमहासचिव,प्रदेश अध्यक्ष लगायतका नेताले पार्टीको सदस्यता दिंदै स्वागत गरेका थिए ।
राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देहीका युवा नेता मोजिब अलीको पहलमा भैरहवाका अरमान अन्सारी र दीपेन्द्र खनाल तथा नवलपरासी सुस्ताका समसाद अन्सारीको नेतृत्वमा उनीहरु पार्टी प्रवेश गरेका हुन् ।
कार्यक्रममा पार्टीका महासचिव केशव सूर्यवंशी मगरले गणतन्त्र,संघीयता, धर्म निरपेक्षता, समावेशीता, समानुपातिक प्रतिनिधित्व जस्ता एजेण्डाहरु राष्ट्रिय जनमुक्ति पार्टीले ३० वर्ष अघिदेखि उठाउंदै आएका एजेण्डा भएको भन्दै पार्टी आफ्नै विचार,सिद्धान्त र नैतिकताको बलमा टिकेको बताए ।
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारी लगायतका संघीयता विरोधीहरुको हातमा शासन सत्ता हुंदा संघीयता बद्नाम भएको भन्दै महासचिव सुर्यवंशीले संघीयताको सच्चा हिमायती राष्ट्रिय जनमुक्ति पार्टी भएको दाबी गरे ।
भ्रष्टाचारलाई निर्मूल नभई मुलुककाे समृद्धि सम्भव नभएको भन्दै उनलेे भ्रष्टाचार प्रमाणित व्यक्तिलाई आजीवन जेल सजाय र उसको सम्पत्ति राष्ट्रियकरण गर्ने कडा कानून ल्याउनुपर्नेमा जाेड दिए ।
कार्यक्रममा नवप्रवेशी अरमान अन्सारीले देशका अन्य पार्टीहरु भन्दा जनमुक्ति पार्टीको सिद्धान्त र विचार मन परेर पार्टी प्रवेश गरेको भन्दै अब पार्टीलाई आउंदो चुनावमा जित दिलाउन लाग्ने बताए ।
कार्यक्रममा पार्टीका उपाध्यक्ष डा. हाजी मोहम्मद,पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष झमबहादुर गुरुङ,जिल्ला अध्यक्ष प्रेम थापा मगर, प्रदेश सचिव बीके राना, जनमुक्ति युवा महासंघ लुम्बिनी अध्यक्ष डीबी थापा,नेता मोजिब अली लगायतले बोलेका थिए ।