काठमाडौं,३० असार । सरकारले साउन १ गतेबाट लामो दूरीमा सार्वजनिक यातायात सञ्चालन गर्न दिने तयारी थालेको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले लामो दूरीमा यातायात सेवा सञ्चालन गर्न दिने तयारी थालेको हो।

विगत दुई महिना भन्दा बढी समय लामो दूरीको यातायात सञ्चालन नहुँदा सर्वसाधारण मारमा परेकाले सञ्चालन गर्न दिनेबारे छलफल भैरहेको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए ।

दुई महिनाभन्दा बढी समयदेखि लामो दूरीमा सवारी नचल्दा सर्वसाधारणले दु:ख पाइरहेकाे र यातायात सञ्चालन गर्न दिन माग पनि आइरहेकोले अब क्रमश: खोल्न दिइने उनले बताए ।

सवारीसाधन सञ्चालन, निषेधाज्ञा थप्ने वा नथप्ने विषयमा तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबीच आज (बुधबार) र भोलि (बिहीबार) छलफल गरी निर्णय लिने प्रजिअ निरौलाले बताए ।
कोरोना संक्रमण जोखिम कायमै रहेकाले तत्काल विद्यालय भने सञ्चालन गर्न नदिने उनकाे भनाइ छ ।

उपत्यकामा जारी निषेधाज्ञा ३१ गते बिहिबार सकिँदैछ। उपत्यकाभित्र सबै प्रकारका सार्वजनिक सवारीसाधन भने चल्न दिइरहेको छ।