काठमाडौं,२८ असार । प्रतिनिधि सभा विघटन मुद्दामा आज सर्वोच्च अदालतमा संवैधानिक इजलास बस्दै छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको इजलासमा यही असार २१ गते नै पक्ष विपक्षको बहस, एमिकस क्युरीको राय लगायतका प्रक्रिया सकिएपछि आजका लागि पेसी ताेकिएको थियो ।

सुनुवाइको सबै प्रक्रिया सकिएकाले आज फैसला आउन सक्ने सर्वोच्च अदालत स्रोतले जनाएको छ ।

प्रतिनिधिसभाका १४६ सांसदहरुले प्रतिनिधिसभा विघटन बदर गर्न र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेशको माग गर्दैै सर्वोच्चमा रिट दायर गरेका थिए ।

गत जेठ ७ गते सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै आगामी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् । यो कदम असंवैधानिक भएको जिकीर गर्दै सर्वोच्च अदालतमा ३० वटा रिट परेका छन् । ती रिटहरुमाथि यही असार ९ गतेदेखि निरन्तर बहस हुँदै आएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई वैकल्पिक प्रधानमन्त्रीको रुपमा अघि सारेका विपक्षी गठबन्धनका १४६ सांसदको तर्फबाट दायर रिटमा देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्न मागसमेत गरिएको छ ।

रिटमा सुनुवाइका लागि प्रधानन्यायाधीश जबराको नेतृत्वमा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराई रहेको संवैधानिक इजलास गठन गरिएको छ ।

यसअघि गत पुसमा पनि गरिएको प्रतिनिधिसभा विघटन संवैधानिक इजलासले असंवैधानिक ठहर गरिदिएको थियो ।