काठमाण्डाै,२६ असार ।
सरकारले अघिल्लो वर्षको बाढी/पहिरो पिडितहरूलाई बल्ल राहत रकम पठाएको छ ।

बाढी/पहिरोले घरबास क्षति गरेका तथा जोखिमका कारण विस्थापित परिवारको घर बनाउन सरकारले सम्बन्धित जिल्लाको विपद् व्यवस्थापन समितिमा एक वर्षपछि रकम पठाएको हो ।

२२ जिल्लाका चार हजार ९ सय ३७ लाभग्राहीको घर बनाउन रकम पठाएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । गएको वर्ष मनसुनमा सबैभन्दा बढी सिन्धुपाल्चोकमा क्षति पुर्याएको थियो ।

सिन्धुपाल्चोकका ८ सय ३९ घरपरिवार विस्थापित भएका थिए । त्यस्तै, कालीकोट, दार्चुला, बाग्लुङ, म्याग्दी, रुकुम, गोरखा, नुवाकोट, लमजुङ, बाजुरा, बझाङ, सङ्खुवासभा, धनकुटा, भोजपुर, पर्वत, जाजरकोट, रोल्पा, कास्की, स्याङ्जा, तनहुँ, मकवानपुर र मोरङमा पनि क्षति गरेको थियो ।

यी जिल्लाका प्रभावित व्यक्तिहरुको घर बनाउन तथा जग्गा नभएकाहरुलाई जग्गा व्यवस्थापन गर्न पहिलो किस्तामा झण्डै ३० करोड रुपैयाँ पठाएको प्राधिकरणका कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए ।

यसवर्ष सरकारले मनसुनजन्य विपदबाट घर क्षति भए विवरण प्राप्त हुनासाथ अस्थायी आवास निर्माणको लागि रकम पठाउने निर्णय गरिसकेको प्राधिकरणले जनाएको छ ।