काठमाडौ,२२ असार ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य चूडामणि ओली आदर्शसहित १४ जनालाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

आगजनीलगायतका मुद्दा पुर्पक्षका लागि कारागारमा रहेका उनीहरुलाई सर्वोच्चले मंगलबार रिहा गर्न आदेश दिएको हो ।
आदर्श विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य हुन् भने अन्य विभिन्न तहका नेता कार्यकर्ता रहेको बताइएको छ । उनीहरु हाल अछाम र बाजुरा कारागारमा रहेका छन् ।

विप्लव नेतृत्वको नेकपासँग सरकारले तीन महिनाअघि गरेको सहमतिअनुसार पक्राउ परेका नेता कार्यकर्ता रिहा गर्ने भनिएपनि हालसम्म रिहाइ हुन नसकिरहेको भन्दै साे पार्टीले असन्तुष्टि जनाइरहेका बेला सर्वोच्चले आज सो आदेश दिएको हो ।

सहमति अनुसार पक्राउ परेका आफ्ना नेता कार्यकर्ताहरूलाई रिहाइ नगरेको भन्दै साे पार्टीका प्रवक्ता खड्क बहादुर विश्वकर्मा प्रकाण्डले प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्टि जनाएका थिए ।