काठमाडौं,२१ असार । दलहरूसँग परामर्श नगरी निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको भन्दै नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।
संसद विघटनसम्बन्धी मुद्धाकाे संवैधानिक इजलासमा सुनुवाई भैरहेका बेला मुद्धालाई प्रभावित पार्ने नियतले आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको कांग्रेसको आराेप छ ।
‘संवैधानिक इजलासले २८ असारमा संसद विघटनको मुद्धामा फैसला गर्दैछ, यस्तो बेला एक साता पनि नपर्खेर निर्वाचन आयोगले कार्यतालिका घोषणा गर्नु सन्देहपूर्ण छ,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘यसको मनशाय निर्वाचनको तयारी अगाडि बढिसक्यो भनेर संवैधानिक इजलासलाई प्रभावित पार्ने काम पनि हो ।’
उनले संसदीय व्यवस्थामा राष्ट्रिय मान्यताप्राप्त दलसँग परामर्श गरेर निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने परम्पराविपरीत आयोगले बालुवाटारको प्रभावमा परेर कार्यतालिका सार्वजनिक गरेको दावी गरे । ‘आयोगका अनुभवी पदाधिकारीहरु बालुवाटारको प्रभावमा पर्नुभयो कि दवाव ? नत्र दलहरुसँग परामर्श गर्ने परम्पराविपरीत दलहरुलाई कुनै जानकारी नगराई किन कार्यतालिका सार्वजनिक गरियो ?’ प्रवक्ता शर्माले प्रश्न गरे ।
सोमबार आयोगले कार्यतालिका सार्वजनिक गर्दै दल दर्ताका लागि आह्वान गरेको हो । आयोगले ३१ असारदेखि १५ साउनसम्म दल दर्ताको समय तोकेको छ । कात्तिक २६ हुने पहिलो चरणको निर्वाचनका लागि असोज २१ देखि असोज २६ सम्म निर्वाचन कार्यक्रम बनाएको छ ।
त्यस्तै मंसिर ४ गतेको निर्वाचनका लागि असोज ३१ देखि कात्तिक ५ गतेसम्म निर्वाचन कार्यक्रम बनाएको आयोगले जनाएको छ । आयोगले भदौ २३ गते अन्तिम मतदाता नामावली सार्वजनिक गर्ने कार्यतालिकामा उल्लेख छ ।








