काठमाडौं,१९ असार ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति सेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता नलिने अडान लिएका छन् ।

पार्टी एकताका लागि हस्ताक्षर फिर्ता लिनुपर्ने प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीकाे प्रस्ताव अस्वीकार गर्दै बरिस्ठ नेता नेपालले हस्ताक्षर फिर्ता नलिने अडान लिएका हुन् ।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भएको टेलिफोन संवादपछि नेपालको सचिवालयले प्रेस नोट जारी गरी ओलीले अन्य कुरामा खासै गम्भीर नबनी हस्ताक्षर फिर्ता लिन मात्र एकोहोरो आग्रह गरेको जनाएको छ ।
नेपालले सर्वोच्च अदालतमा विचाराधीन मुद्दाका सन्दर्भमा अदालतबाट आउने फैसलालाई स्वीकार मात्र गर्न सकिने, तर हस्ताक्षर फिर्ता लिन नसकिने स्पष्ट पारेका हुन् ।

`नेपालले अहिले जारी एमाले बैठक सर्वोच्च अदालतको फैसलाअनुरूप २०७५ जेठ २ को नभई २०७७ फागुन २८ कै निर्णयको निरन्तरता देखिएकाे र आवश्यक सल्लाह एवं परामर्श विना आयोजना गरेकाले त्यसलाई रोक्न, राजनीतिक र संगठनात्मक कोर्स करेक्सन गर्न एवं पहिले निर्माण गरेको वार्ता कमिटीलाई क्रियाशील बनाई औपचारिक वार्ता आरम्भ गर्न आग्रह’ गरेको प्रेस नोटमा उल्लेख छ ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा असन्तुष्ट समूहबाट भएको हस्ताक्षर फिर्ता लिन ओलीले आग्रह गर्दै आएका छन् ।