काठमाडौं,१९ असार । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति सेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै दायर मुद्दाकाे सर्वोच्च अदालतबाट फैसला आउनु अगावै हस्ताक्षर फिर्ता नलिनेहरू एमालेमा रहन नसक्ने बताएका छन् ।

शनिबार पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले पार्टी एकताका लागि पनि अब माधव नेपाल समूहलाई धेरै पर्खिन नसकिने समेत बताए ।
`मुद्दाको फैसला हुँदासम्म एमाले नेतृत्वको सरकार ढाल्ने अनि प्रमुख प्रतिपक्षको नेतृत्वमा वैकल्पिक सरकार बनाउने प्रस्तावमा ज–जसको हस्ताक्षर कायम रहन्छ ती पार्टी कार्यकर्ता होइनन् । ओलीले भने, ‘यसले त कित्ताकाट गरिसक्यो नि ! यसमा कुनै भ्रम पाल्न हुन्छ र ? शब्दका झूटका खेतीमा अल्मलिन हुन्छ र !

कोहीकोहीलाई लामो विमारी लाग्ला निको हुन धेरै समय लाग्ला, निको हुन १० वर्ष लाग्यो भने के गर्ने ? पर्खिरहने ?’ ओलीले भने, ‘त्यसकारण यो १० वर्षको पर्खाइ हुन सक्दैन ।’

आफूहरु धेरै लचक भएर जेठ २ मा गइसकेपछि पनि अब धेरै शर्त स्वीकार्न नसकिने ओलीको भनाइ थियो।