काठमाडौं,१६ असार । आगामी तीन दिन देशका धेरैजस्तो स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले सो क्षेत्र वरपर बढी वर्षा हुने महाशाखाले जनाएको छ ।
आगामी तीन दिन कर्णाली र सुदूरपश्चिम प्रदेशबाहेक अरु स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको मौसमविद सजिना शाक्यले जानकारी दिइन् । ती स्थानका केही ठाउँमा धेरै भारी वर्षाको सम्भावना रहेको उनलेे बताइन् ।
शाक्यका अनुसार प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा तथा एक वा दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ । ती प्रदेशहरुमा बाढी र पहिरोको जोखिम रहेकाले दैनिक जीवनयापन तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी जारी गर्दै प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा तथा एक वा दुई स्थानहरुमा धेरै भारी बर्षाकाे सम्भावना रहेको र उक्त प्रदेशहरुको पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध छ ।
महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको सक्रिय प्रभाव छ । अहिले देशभर सामान्यदेखि पूर्ण बदली हुनुका साथै प्रदेश १, २ बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
प्रदेश, १ प्रदेश २, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको र शुक्रबार राति भने कर्णाली प्रदेशमा पनि यस्तो सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।







