काठमाडौं, १५ असार । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्रतिनिधिसभाको अधिकार अपहरण भएको बताएका छन् । मंगलबार संघीय संसद भवनमा आयोजित अन्तर्क्रियामा उनले संविधानको आत्मामाथि प्रहार भएको बेला आफू चुप बस्न नसक्ने चेतावनीसमेत दिए ।
अध्यादेशबाट शासन गर्ने र अदालतको आदेश पालना नगर्ने कामले दुर्घटना निम्ताउने खतरा बढेको उनको भनाइ छ ।
‘अहिले संसदको अधिकार अपहरण भएको छ, राष्ट्रपति कार्यालयबाट अतिक्रमण भएको छ,’ उनले भने, ‘अदालतले गरेका निर्णयको उल्लंघन भएको छ ।’ उनले संसदको पटकपटक अवमूल्यन भएको बताए । संसदलाई जीवन्त राख्न आफूले प्रयत्न गरिरहेको उनको भनाइ थियो । संविधानतः आफ्नो भूमिका तटस्थ रहनुपर्ने तर त्यो तटस्थता संविधानको रक्षार्थ तथा जनताको हितका सन्दर्भमा केन्द्रित रहने उनलेे बताए ।
यसअघि नै अदालतको फैसलाअनुसार प्रतिनिधिसभा पुनर्स्थापना भएपछि आफूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग लामो छलफल गरेको पनि उनले जानकारी दिए ।
आफूले नागरिकता विधेयकको बारेमा पनि कुरा राखेको तर प्रधानमन्त्री ओलीले ध्यानाकर्षण भएको छ भनेर जवाफ दिएको उनले सुनाए । राज्यका तीन अंगले के गरिरहेका छन् भन्ने जनतालाई जानकारी दिनुपर्छ भन्दै त्यसका लागि छलफल र बहस गर्नुपर्ने विचार व्यक्त गरे ।
प्रतिनिधिसभा विघटनविरुद्ध अदालतमा दायर रिटमाथि बहस चलिरहेको चर्चा गर्दै उनले अदालतलाई पनि सही निष्कर्षमा पुग्नका लागि सहज हुनेगरी छलफल गर्नुपर्नेमा जोड दिए । अन्तर्राष्ट्रिय शक्ति सन्तुलनमा परिवर्तन भइरहेको समयमै संसद विघटन भएको उनको भनाइ थियो । लोकतन्त्रको विकल्प लोकतन्त्रमात्र हुने भन्दै उनलेे लोकतन्त्रको संरक्षणका लागि संविधानको रक्षा हुनुपर्ने उल्लेख गरे ।







