प्रधानमन्त्री ओलीले अदालतलाई धम्क्याउन थालेको प्रचण्डको आराेप
काठमाडौं १२ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकर्ताजस्तो बनेको टिप्पणी गरेका छन् ।
शनिबार विपक्षी गठबन्धनले गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले आफूलाई १४९ सांसदले प्रधानमन्त्रीमा समर्थन गर्दै हस्ताक्षर गरे पनि राष्ट्रपतिले रातारात संसद विघटन गरेको भन्दै आपत्ति जनाए ।
राष्ट्रपति भण्डारी ओलीको कार्यकर्ता भए जस्तो व्यवहार गरेको भन्दै देउवाले केपी ओलीसँग भन्दा राष्ट्रपतिसँग दुख लागेको गुनासो गरे ।
सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनर्स्थापना हुने र आफूलाई प्रधानमन्त्री बनाउन आदेश हुने देउवाको विश्वास छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई धम्क्याउन थालेको बताएका छन् ।
विपक्षी गठबन्धनका शीर्ष नेताहरुद्वारा पत्रकारहरुसँगको छलफलमा प्रचण्डले प्रधानमन्त्रीले आफूलाई देखाएर अदालतलाई धक्याउन थालेको बताएका हुन् । आफूले नबोलेको कुरा पनि बोलेको भनेर प्रचार गरिएको भन्दै प्रचण्डले संविधानअनुसार अदालतले पक्कै गर्छ मात्रै आफुले बाेलेको बताए । उनलेे भने- ´म अहिले पनि भन्छु, संसद पुनर्स्थापना हुनुपर्छ, प्रधानमन्त्री शेरबहादुर देउवाजी नै हुनुपर्छ ।’
संविधानको धारा ७६(५) सांसदहरुको विशेषाधिकारका रुपमा राखिएको भन्दै प्रचण्डले अदालतले संविधान अनुसार निर्णय गर्छ भन्ने विश्वास रहेको बताए ।
नेकपा एमालेका नेता माधवकुमार नेपालले विपक्षी गठबन्धनलाई धोका नदिने बताएका छन् । शेरबहादुर देउवाको साटो आफूलाई प्रधानमन्त्री बन्न प्रस्ताव आएको, तर आफूले स्वीकार नगर्ने उनले बताए ।
गठबन्धनका शीर्ष नेताहरुले शनिबार पत्रकारहरुसँग भएको छलफलमा एमाले नेता नेपालले उक्त कुरा बताएका हुन् ।
एमालेको एकता जोगाउनुपर्ने मत राख्दै आएका ओली समूहकै नेताहरुले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुभन्दा नेपाललाई बनाउनुपर्ने बताएका थिए ।
पदका लागि गठबन्धनलाई धोका नदिने बताउदै उनलेे
राष्ट्रियता, संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशीता बचाउन पाँच दलीय गठबन्धन बनेकोले आफुले गगठबन्धनलाई धाेका नदिने प्रष्ट पारे । उनले ओलीसँग सहकार्यको सम्भावना नरहेको बताए ।
विश्वमा निर्वाचनबाट पनि तानाशाही जन्मिएको र नेपालमा ओलीको नाममा नयाँ चरित्र पाएको भन्दै उनले केपी ओलीलाई सत्ता भएपछि अरु केही नदेख्ने आराेप लगाए ।
नेकपामा रहँदा पनि प्रधानमन्त्री पद त्याग्नुपरे कुर्सी भाचिदिन्छु भनेको प्रसँग निकाल्दै नेता नेपालले अहिले पनि ओलीमा त्यो प्रवृत्ति कायमै रहेको बताए ।
आफूहरुको लडाई ओलीविरुद्ध नभई ओली प्रवृत्तिविरुद्ध भएको उनले स्पष्ट पारे ।
कार्यक्रममा जनमोर्चाका महासचिव मनोज भट्ट,जसपाका नेता राजेन्द्र श्रेष्ठले पनि कुनै हालतमा गठबन्धनमा धोका नहुने बताएका थिए ।








