काठमाण्डाै,३ असार । नेपाली कांग्रेसले सरकारले सरकारले लकडाउनलाई सत्ता जोगाउने सुरक्षा कवचका रूपमा प्रयोग गरेको भन्दै विरोध जनाएको छ । बिहीवार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकबारे जानकारी गराउँदै नेपाली कांगेसका नेता प्रकाशशरण महतले सरकारकै उदासिनता र अर्कमण्यताका कारण कोभिड–१९ को संक्रमण फैलिएकाे र लकडाउन गर्नुपर्ने स्थिति आएको बताए । सरकारले लकडाउनलाई सत्ता जोगाउने सुरक्षा कवचका रूपमा प्रयोग गरिरहेको कांग्रेसको आराेप छ ।

सरकारकाे याे व्यवहारकाे कांग्रेसको बैठकले निन्दा गरेको भन्दै उनलेे भने, ‘लकडाउनको अवस्थामा नागरिकहरू जति नै सरकारसँग असन्तष्ट भए पनि सडकमा निस्किन सक्ने अवस्था छैन, त्यसलाई उहाँहरूले आफ्नो सत्ता जोगाउने कवचको रूपमा लिइरहनु भाछ । उहाँहरूलाई विराेधमा काेही निस्किन सक्दैन र यसले हाम्राे सत्ता झन् सुरक्षित भयाे भन्ने छ ।’

बैठकमा कांग्रेसको केन्द्रीय महाधिवेशन भदौ १६ गतेदेखि १९ गतेसम्म गर्ने गरी प्रस्ताव पेस भएको छ भने पालिकाकाे महाधिवेशन साउन १२ गतेबाट गर्ने प्रस्ताव छ । यसबारे छलफल गरेर निष्कर्ष निकालिने नेता महतले जानकारी दिए ।

महाधिवेशनको सम्बन्धमा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै नेपाली कांग्रेसका नेता रमेश लेखकले क्रियाशील सदस्यता विवादकै कारणले महाधिवेशन प्रभावित नहुने बताए । उनले छिट्टै नै क्रियाशील सदस्यको सम्बन्धमा परेका उजुरीमाथि छलफल गरेर अन्तिम नामावली निकालिने जानकारी दिए ।

बैठकले सिन्धुपाल्चोक लगायतका ठाउँमा गएको बाढीबाट भएका घटना प्रति दुःख प्रकट गर्दै तिनै तहको सरकारलाई पूर्ण प्राथमिकताका साथ उद्धार र राहतमा लाग्न आग्रह गरेको छ ।