काठमाडौँ,२६ जेठ । लुम्बिनी प्रदेशबाट हालै निर्वाचित राष्ट्रिय सभा सदस्य दृगनारायण पाण्डेयले बुधबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
उनलाई संघीय संसद् सचिवालय सिंहदरबारमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शपथ ग्रहण गराएका हुन् ।
संघीय संसद् सचिवालय सिंहदरबारमा आयोजित शपथ ग्रहण कार्यक्रममा कानुन न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ, राष्ट्रिय सभा उपाध्यक्ष शशिकला दाहाल, राष्ट्रिय सभामा कांग्रेस दलका नेता राधेश्याम अधिकारी, सचेतक अनिता देवकोटा, माओवादी राष्ट्रिय सभा दलका नेता दीनानाथ शर्मा, राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीलगायतको उपस्थिति रहेको थियो ।
नेकपा माओवादी केन्द्रबाट निर्वाचित चन्द्रबहादुर खड्कालाई पार्टीले कारबाही गरेपछि रिक्त पदमा भएको उपनिर्वाचनमा पाण्डे निर्वाचित भएका हुन् । कांग्रेससहितको विपक्षी गठबन्धनका साझा उम्मेदवार रहेका उनले एमालेका खड्कालाई ५ सय २८ मतभारले हराएका थिए । पाण्डेले ४ हजार १ सय ४० मतभार प्राप्त गरेका थिए भने खड्काले ३ हजार ६ सय १२ मतभार पाएका थिए ।








