काठमाडौं,२४ जेठ ।
नेकपा एमालेका माधवकुमार नेपाल समूहले सर्वोच्च अदालतमा दायर रिटबाट हस्ताक्षर फिर्ता नलिने भएको छ ।

प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले राखेको प्रस्ताव नै गलत मनासयले आएको भन्दै नेपाल समूहले हस्ताक्षर फिर्ता नलिने भएको हो ।
आइतबार पार्टी एकताका निम्ति प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा दायर रिटबाट हस्ताक्षर फिर्ता लिने नेपाल-खनाल समुहलाई आह्वान गरेका थिए ।
अध्यक्ष ओलीले आइतबार पार्टी एकताका निम्ति आहृवान गर्दै ६ बुँदे प्रस्ताव अघि सारेका थिए । उनले एमालेलाई ३ जेठ २०७५ पूर्वको अवस्थाबाट अगाडि बढाउने र सर्वोच्चको रिटमा प्रयोग भएको एमालेका निवर्तमान सांसदहरुको हस्ताक्षर फिर्ता हुने उल्लेख छ ।

नेपाल समूहका स्थायी कमिटी सदस्यहरुको भर्चुअल बैठकले पार्टी एकतासम्बन्धी प्रस्तावमा सर्वोच्चको रिटबाट हस्ताक्षर फिर्ता लिनुपर्ने बुँदा गलत मनसायबाट राखिएको निष्कर्ष निकालेको छ ।

बैठकले अध्यक्ष ओलीले अघि सारेका अन्य बुँदाहरूमा थप प्रष्टता खोजेको छ ।