काठमाण्डाै,२४ जेठ । पाकिस्तानमा दुई वटा रेल ठोक्किँदा ३० जनाको मृत्यु भएको छ । पाकिस्तानको सिन्ध प्रान्तमा दुई वटा रेल आपसमा ठोक्किएको हो ।
दुर्घटनामा कम्तीमा पनि ४० जना घाइते भएका स्थानीय सञ्चारमाध्यमलाई उदृत गर्दै बीबीसीले जनाएको छ । रेडियो पाकिस्तानका अनुसार केहीको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको संख्या बढन सक्ने अनुमान छ । रेलका डब्बामा फसेकाहरुको उद्धारका लागि उद्धार टोली खटिएको छ ।
रावलपिण्डीबाट कराचीका लागि छुटेको सर सैयद एक्सप्रेस र कराचीबाट सरगोधका लागि छुटेको मिल्लत एक्सप्रेस ठोक्किएका हुन् । दुर्घटनामा मिल्लत एक्सप्रेसको आठ र सर सैयद एक्सप्रेसको इन्जिनसमेत गरी तीन वटा डब्बा रेलको लिकबाट उछिट्टिएको छ । दुर्घटना भएको रेलको लिकमा अहिले आवतजावतमा रोक लागाइएको छ ।








