काठमाण्डाै,२४ जेठ । आज विश्व खाद्य स्वच्छता दिवस मनाइँदैछ छ । यसबर्ष´आजको स्वच्छ भोजन, भोलिको स्वस्थ जीवन` भन्ने नारासहित याे दिवस मनाइदै छ । सन् २०१८ डिसेम्बर २० तारिखका दिन संयुक्त राष्ट्रसङ्घको महासभाले हरेक वर्ष जुन ७ का दिन विश्व खाद्य स्वच्छता दिवस मनाउने निर्णय गरेको थियो । त्यसयता सन् २०१९ देखि हरेक वर्ष विश्व खाद्य स्वच्छता दिवस मनाइदै आएको छ ।
सरकारले गुणस्तरीय खाद्य पदार्थ उपलब्धताको सुनिश्चितताका लागि काम गरिरहेको दाबी गरेको छ । तर, मिसावट र अखाद्य वस्तुको प्रयोग बढ्दै जाँदा उपभोक्ता भने गुणस्तरहीन खाना खान बाध्य हुनु परेको अवस्था छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा.योगेन्द्रकुमार कार्कीले आयात गरिएकाे खाद्य वस्तुको नियमनलाई प्रभावकारी बनाउन छिटो छरितो र भरपर्दो रुपमा परीक्षण गरी प्रभावकारी नियमन गर्ने व्यवस्था मिलाउन मन्त्रालयले पहल गरिरहेको जानकारी दिए ।
यस्तै, दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको खाद्य अधिकार र स्वास्थ्य सुरक्षालाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् । खाद्यवस्तु स्वच्छताका लागि सरकारले निरोगी नेपालको अवधारणा अघि सारेको प्रधानमन्त्री ओलीको भनाइ छ ।








