बुटवल,२३ जेठ ।
त्रिमुल नेपाल पार्टीले १२ बुँदे दिल्ली समझदारीकाे यात्रा अन्त्य गरि राष्ट्रिय सरकार गठनको दिशामा अगाडि बढ्न अपिल गरेको छ ।
साे पार्टीका अध्यक्ष भरत दाहालले शनिबार एक विज्ञप्ति जारी गरि १२ बुँदे दिल्ली समझदारीकाे यात्रा अन्त्य गरि राष्ट्रिय सरकार गठनको दिशामा अगाडि बढ्न अपिल गरेका हुन् ।

मुलुकमा ब्याप्त अराजकता र राजनीतिक अस्थिरताकाे कारक १२ बुँदे दिल्ली समझदारी भएको उल्लेख गर्दै विज्ञप्तिमा सर्वपक्षीय छलफलको आयोजना गरि त्यसैबाट १२ बुँदे दिल्ली समझदारी यात्राको अन्त्यको घाेषणा गर्दै राज्य संचालन गर्ने राष्ट्रिय मूलनीति बनाएर राष्ट्रिय सरकार गठनको दिशामा अगाडि कढ्न देशको अवस्था बारे चिन्ता प्रकट गरेर आवाज उठाउदै आएका देशभक्त राजनीतिक दल,समूह,शक्ति तथा व्यक्तिहरूसँग अनुरोध गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ´विदेशी एजेन्डाहरू समाविष्ट गरि जारी गरिएको संविधानले चरम संकट पैदा गरेको छ । सँगसँगै दलाल कित्ताहरूकाबीचकाे सत्रुता पनि उग्र बन्दै गएको छ । यसले संघीयताकाे आवरणमा सजाइएकाे संसदीय प्रणाली पूर्णरूपमा असफल भएको पुष्टि भएको छ । अब दलालहरूकाबीचकाे द्वन्द्वले मुलुक अर्को चरणको अराजकतामा धकेलिने खतरा बढेको छ ।`
संसद विघटनको पछिल्लो घटना पछि त्यसको पक्ष वा विपक्षमा
नाममा सर्वोच्च अदालतका न्यायाधीश र वकिलहरूकाबीचमा देखिएकाे शंका,उपशंका र आराेप-प्रत्यारोपकाे तश्विर हेर्दा अबैध धन र भुमिगत शक्तिहरूकाे घुसपैठका कारण न्यायिक क्षेत्र भताभुङ्ग भैसकेकाे तथ्य स्पष्ट भएको भन्दै विज्ञप्तिमा ´सेटिङ्ग`मिलाउन नसक्ने सर्वसाधारणका लागि न्याय अब मृगतृष्णा बनिसकेको उल्लेख छ ।

१२ बुँदे दिल्ली समझदारीकाे यात्राले देश र नागरिकको हितमा काम गरेको छैन भन्ने वास्तविकताकाे बारेमा कसैमा शंका नभएको भन्दै साे पार्टीले यस्तो खराब अवस्थाकाे अन्त्य गर्न १२ बुँदे षड्यन्त्रका बिरूद्वमा रहेका देशभक्त नेपाली जनताको प्रतिनिधित्व गर्ने राजनीतिक दल,समूह,शक्ति र व्यक्तिहरूबाट सकृय हस्तक्षेप हुनु तड्काराे आवश्यकता बनेको जनाइएको छ ।