काठमाडौ,२२ जेठ ।
जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नाकावन्दीको समर्थक र विरोधी कसरी एकै ठाउँ ? भनी प्रश्न गरेका छन् ।
जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष सरकारमा सहभागी भएपछि सोही पार्टीका अर्का नेता डा. बाबुराम भट्टराईले नाकाबन्दीका कट्टर समर्थक र विरोधीको सालनाल कहाँ जोडिएको रहेछ ? दुबैकाे मुकुण्डाे उत्रिएनत ? भनी प्रश्न गरेका छन् ।

‘यक्ष प्रश्न’ भन्दै सामाजिक संजाल ट्वीटरमा नेता भट्टराईले लेखेका छन्, ‘अन्धराष्ट्रवादको नारा दिएर पहाडी मतदाता ठग्ने र क्षेत्रियतावादको कुरा गरेर मधेशी मतदाता ठग्ने कसरी एकै ठाम ?’

उनकाे अर्को प्रश्न छ, ‘संविधान जारी हुँदा दीपावली गर्ने र ब्ल्याक आउट गर्नेको घाँटी कसरी जोडियो ?’

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार जसपाको ठाकुर र महतो पक्षका आठ मन्त्री र दुई राज्यमन्त्रीलाई सहभागी गराई मन्त्रिपरिषद पुनर्गठन गरेपछि साेही पार्टीका अध्यक्ष भट्टराईकाे उक्त प्रतिक्रिया आएको हो ।

जसपाका अर्का अध्यक्ष भट्टराई र उपेन्द्र यादव भने ओली नेतृत्वको सरकारमा सहभागी हुन नहुने बरु यो सरकारको विकल्प खोज्ने भन्दै कांग्रेस, माओवादीलगायतको विपक्षी गठबन्धनमा छन् ।